६७ देशमा ट्रम्पको नयाँ भन्सार दर लागु, कुन देशलाई कति प्रतिशत?

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार देशहरूलाई लगाएको भन्सारको नयाँ दर लागु भएको छ।

गत अगस्ट १ मा ट्रम्पले विभिन्न देशका लागि घोषणा गरेको नयाँ भन्सार दर आजदेखि लागू भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। 

उनले तीन महिनाको बीचमा व्यापार सम्झौता भएका देशहरूमा सम्झौता अुनसार र हुन बाँकी देशहरूलाई नयाँ भन्सार दर तोकेका हुन्।

ट्रम्पले कार्यकाल सम्हालेपछि लगाएको पारस्परिक भन्सार घोषणा गरेका थिए। 

तर एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाएका थिए ।

त्यसबीच परस्पर छलफलबाट व्यापार सम्झौता गरी सहमतिअनुसारको भन्सार दर तोक्ने भनेका थिए।

ट्रम्पले दिएको तीन महिनाको अवधि गत शुक्रबार सकिएको थियो। 

यसबीचमा केही देशहरूसँग ट्रम्पले  व्यापार सम्झौता गरे पनि अधिकांश देशहरूसँग छलफलको माध्यमबाट सम्झौता हुन सकेन।

युरोपेली संघलाई १५ प्रतिशत,जापानलाई १५ प्रतिशत, बेलायतलाई १० प्रतिशत तथा दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स र इन्डोनेशियालाई १५ देखि १९ प्रतिशत भन्सार शुल्क लाग्ने यसअघि नै सहमति भएको छ।

ट्रम्पले नयाँ घोषणा गरेको भन्सार दर १० प्रतिशतदेखि ५० प्रतिशतसम्म तोकिएको छ।

सिएनएनका अनुसार ब्राजिललाई सबैभन्दा बढी ५० प्रतिशत भन्सार तोकेका छन्। 

त्यस्तै सिरियालाई ४१ प्रतिशत, लाओस र म्यानमारलाई ४०/४० प्रतिशत भन्सार तोकिएको छ। 

 ट्रम्पले क्यानडामाथिको भन्सार २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याएका छन्।

बोलिभिया, इक्वेडर, आइसल्याण्ड र नाइजेरियालाई १५ प्रतिशत भन्सार तोकेका छन्। 

श्रीलंका र ताइवानलाई २० प्रतिशत भन्सार तोकेका छन्। 

भारतलाई २५ प्रतिशत भन्सार तोकिएको छ। ट्रम्पले रूसबाट तेल किनिरहे भारतमाथिको भन्सार बढाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन्। 

चीनलाई पनि  रूसी तेल खरिद गरिरहे एक सय प्रतिशतसम्म भन्सार लगाउने चेतावनी ट्रम्पले दिएका छन्। 

ट्रम्पले पारस्परिक भन्सार घोषणा गर्दा चीनले पनि प्रतिवाद गरेपछि दुई देशबीच व्यापार युद्ध नै भएको थियो। त्यतिबेला अमेरिकाले चीनमाथि भन्सार दर १४५ प्रतिशतसम्म पुर्‍याउँदा चीनले पनि १२५ प्रतिशतसम्म पुर्‍याएको थियो।  

चीन पछि नहटेपछि ट्रम्प झुक्न बाध्य भए र पछि वार्तामार्फत ९० दिनका लागि भन्सार दर ११५ प्रतिशत बिन्दुले घटाउन दुवै देश सहमत भएका थिए।

अहिले अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत भन्सार लगाउँदै आएका छन्। अगस्ट १२ मा त्यो समय सकिँदैछ। त्यसअघि नै दुई देशबीच छलफल गर्ने तयारी रहेको न्युयोर्क टाइम्सले लेखेको छ।

सूचीमा नरहेका देशलाई भने १० प्रतिशत भन्सार तोकिएको छ। 

कुन देशलाई कति प्रतिशत भन्सार—

देशभन्सार दर (%)
ब्राजिल५० प्रतिशत
सिरिया४१ प्रतिशत 
लाओस४० प्रतिशत
म्यानमार४० प्रतिशत
स्वीट्जरल्याण्ड३९ प्रतिशत
इराक३५ प्रतिशत
सर्बिया३५ प्रतिशत
अल्जेरिया३० प्रतिशत
बोस्निया एन्ड हर्जगोभिना३० प्रतिशत
लिबिया३० प्रतिशत
दक्षिण अफ्रिका ३० प्रतिशत
ब्रुनाई२५ प्रतिशत
भारत२५ प्रतिशत
कजाकस्तान२५ प्रतिशत
मोल्डोभा२५ प्रतिशत
ट्युनिसिया२५ प्रतिशत
बंगलादेश २० प्रतिशत
श्रीलंका२० प्रतिशत
ताइवान २० प्रतिशत
भियतनाम२० प्रतिशत
कम्बोडिया१९ प्रतिशत
इन्डोनेशिया१९ प्रतिशत
मलेसिया१९ प्रतिशत
पाकिस्तान१९ प्रतिशत
फिलिपिन्स१९ प्रतिशत
थाइल्याण्ड१९ प्रतिशत
निकारगुआ१८ प्रतिशत
अफगानिस्तान१५ प्रतिशत
एन्गोला१५ प्रतिशत
बोलिभिया१५ प्रतिशत
बोत्सवाना१५ प्रतिशत
क्यामरून१५ प्रतिशत
चाड १५ प्रतिशत
कोस्टा रिका१५ प्रतिशत
आइभोरी कोस्ट१५ प्रतिशत
कंगो १५ प्रतिशत
इक्वेडर१५ प्रतिशत
इक्वेटोरियल गुयना१५ प्रतिशत
युरोपेली संघ १५ प्रतिशत
फिजी१५ प्रतिशत
घाना१५ प्रतिशत
गुयना१५ प्रतिशत
आइसल्याण्ड१५ प्रतिशत
इसराइल१५ प्रतिशत
जापान१५ प्रतिशत
जोर्डन१५ प्रतिशत
लिसोथो १५ प्रतिशत
लिचेन्स्टेन १५ प्रतिशत
माडागास्कर१५ प्रतिशत
मलवी १५ प्रतिशत
मरिसस१५ प्रतिशत
मोजाम्बिक १५ प्रतिशत
नामिबिया१५ प्रतिशत
नाउरू१५ प्रतिशत
न्यूजिल्याण्ड१५ प्रतिशत
नाइजेरिया१५ प्रतिशत
उत्तर म्याशडोनिया १५ प्रतिशत
नर्वे १५ प्रतिशत
पपुवा न्युगिनी १५ प्रतिशत
दक्षिण कोरिया१५ प्रतिशत
त्रिनिडाड एन्ड टोबागो१५ प्रतिशत
टर्की१५ प्रतिशत
युगान्डा१५ प्रतिशत
भानुआटा१५ प्रतिशत
भेनेजुएला१५ प्रतिशत
जाम्बिया१५ प्रतिशत
जिम्बावे १५ प्रतिशत

ताजा समाचार