काठमाडौं । भारत र पाकिस्तानको बिझाइरहने घाउ कास्मिर हो । कास्मिरको पुरा भूमिमा दुवैको दाबी छ । दुवैको गच्छे अनुसारको नियन्त्रण पनि छ ।
पश्चिमा मिडियाहरुले भारत नियन्त्रित कास्मिर र पाकिस्तान नियन्त्रित कास्मिर भनेर यसलाई व्याख्या गर्छन् ।
भारत प्रशासित कास्मिरमा धेरै आतंकवादी हमला हुन्छन् । भारत त्यसको आरोप पाकिस्तानमा लगाउँछ । पाकिस्तान भारतको ‘आन्तरिक आतंकवाद’ भन्छ । यी त भारत र पाकिस्तान देशको रूपमा आएपछि कै नियमित खेलोमेलो भए ।
मङ्गलवारको घटनाले भने दुई देशको सम्बन्धमा दरार आएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स भारतमा आएकै समयमा कास्मिरको आतंकवादी हमला भयो ।
हमलामा नेपाली सहित २८ जना पर्यटकहरू मारिए । हिन्दूहरु छानिछानी मारिएको भारतीय मिडियाहरूको भनाइ छ ।
भारतको अनन्तनाग जिल्लाको पहलगाममा भएको आतंकवादी हमलाको निन्दा विश्वसँगै नेपालले पनि गरेको छ । यो घटनाले विरोधका स्वरहरूलाई भारत पाकिस्तान मात्रै होइन इस्लामविरुद्ध पनि प्रयोग गरिएको छ ।
भारतमा निर्वासित बङ्गलादेशकी साहित्यकार तललिमा नसरिनले कास्मिर हमलालाई लिएर इस्लामसँग जोडेर आक्रामक पोस्ट गरिन् ।
उनले ट्विटरमा लेखिन, ‘जबसम्म इस्लाम बाच्छ, तबसम्म आतंकवाद बाँच्छ । जबसम्म इस्लाम बाँच्छ गैर इस्लामको कुनै सुरक्षा हुनेछैन ।’
मङ्गलवारको कास्मिर हमलासँगै भारतले पाकिस्तानलाई लक्षित गरेर विभिन्न पाँच आक्रामक निर्णय गरेको छ । ती यस्ता छन्:
१. इन्दुस नदी सम्झौता स्थगन
भारत र पाकिस्तानको दुवै भूमि भएर बग्छ इन्दुस नदी । यो नदीको पानीलाई सम्झौता दुई देशले गर्नमा विश्व बेंकको ठूलो हात छ । सन १९६० मा त्यो सम्झौता भएको थियो । अब कास्मिरको ताजा आतंकवादी हमलाले यसलाई स्थगन गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । सन १९६५, १९७१, १९९९ र २००८ मा भएका पाकिस्तानसँगको तनाव तथा युद्धमा पनि भारतले यो सन्धि स्थगन गरेको थिएन ।
२. पाकिस्तानका नागरिकलाई भिजा निषेध
भारतले सार्क देशका नागरिकको रूपमा पाकिस्तानी नागरिकहरूलाई दिइँदै आएको भिजा नदिने भएको छ । भारतको एनडीटिभीका अनुसार अब पाकिस्तानीहरूले भिजा पाउने छैनन् । पाएकाहरूको रद्द हुनेछ । ४८ घण्टा भित्र पाकिस्तान फिर्न आदेश दिइएको छ ।
३. अटारी सीमा बन्द
भारतले पाकिस्तानसँग खुला रहेको अटारी सीमा बन्द गर्ने भएको छ । दुई देशको संयुक्त जाँच चौकी पनि बन्द हुने भएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले यसको औपचारिक जानकारी बुधवार दिएका हुन् । इजाजत लिएर भारत आएकाहरूले मे १ भित्र पाकिस्तान फिर्ता भइसक्नुपर्ने पनि मिश्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को सुरक्षा समितिको निर्णय अनुसार यस्तो भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
४. पाकिस्तानबाट कूटनीतिक कर्मचारी फिर्ता
भारतले कास्मिरको हमलासँगै पाकिस्तानबाट आफ्ना कूटनीतिक कर्मचारी फिर्ता गरेको छ ।
५. पाकिस्तानी उच्चायुक्तको संख्या कटौती
भारतले पाकिस्तानका कूटनीतिज्ञहरूलाई देश छोड्न भनेको छ । सात दिन भित्र छोड्न आदेश दिइएको छ । पाकिस्तानको भारतमा रहेको उच्चायुक्त कार्यालयका ५५ कर्मचारी घटाएर ३० मा झारिएको छ ।