जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्री ट्रसले दिइन् राजीनामा 

लन्डन — आर्थिक तथा राजनीतिक संकट गहिरिँदै गएपछि बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।पदमा नियुक्त भएको ४५ दिनमै राजीनामा दिएकी ट्रस बेलायतको इतिहासमै सबैभन्दा छोटो समय काम गर्ने प्रधानमन्त्रीसमेत भएकी छन् । यसअघि सन् १८२७ मा जोर्ज क्यानिङ चार महिना बेलायतका प्रधानमन्त्री बनेका थिए ।

ट्रसले बिहीबार एक सम्बोधन गर्दै जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिएको घोषणा गरेकी हुन् । नयाँ उत्तराधिकारी चयन नभएसम्म भने उनी पदमा रहिरहनेछिन् । पार्टीको नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी सातादेखि नै सुरु हुने ट्रसको भनाइ छ । हाल संसद्मा बहुमत रहेका कारण कन्जरभेटिभ दलको नेता नै भावी प्रधानमन्त्री बन्छन् ।

‘बृहत् आर्थिक र अन्तर्राष्ट्रिय अस्थिरताबीच म प्रधानमन्त्री कार्यालय आएकी थिएँ । परिवार र व्यवसायहरू कसरी आफ्नो बिल तिर्ने भन्ने चिन्तामा थिए,’ उनले आफ्नो सम्बोधनमा भनेकी छन्, ‘त्यसका साथै, पुटिन (रुसी राष्ट्रपति) को युक्रेन युद्धका कारण हाम्रो महादेशमा सुरक्षाको चिन्ता थपियो । र, देशको आर्थिक वृद्धि निकै न्यून हुन पुग्यो ।’ देशलाई यो अवस्थाबाट बाहिर निकाल्न आफूलाई कन्जरभेटिभ दलले दिएको म्यान्डेट पूरा गर्न असफल भएकाले आफूले पद त्यागेको उनको भनाइ छ ।

बोरिस जोन्सनको राजीनामापछि ट्रस डेढ महिनाअघि प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । ट्रस नेतृत्वको सरकारले घोषणा गरेको मिनी बजेटलगत्तै बेलायती मुद्रा पाउन्ड स्टर्लिङको भाउ अन्तर्राष्ट्रिय बजारमा गिरेको र आर्थिक संकट गहिरिएको भन्दै सरकारको आलोचना भएपछि उनले गत साता अर्थमन्त्री क्वासी क्वारटेङलाई पदबाट बर्खास्त गरेकी थिइन् । त्योसँगै कन्जरभेटिभ दलभित्र उत्पन्न असन्तोषले आक्रोशको रूप लिएको थियो ।

बुधबार गृहमन्त्री सुएला ब्रेभरम्यानले आफ्नो निजी इमेलबाट सरकारी कागजात पठाएको सार्वजनिक भएपछि पदबाट राजीनामा दिएकी थिइन् । तर उनले आफ्नो राजीनामा पत्रमा प्रधानमन्त्री ट्रसको कार्यशैलीको कडा आलोचना गरेकी थिइन् ।

बुधबार नै संसद्को तल्लो सदन हाउस अफ कमन्समा जैविक तेल उत्खनन प्रक्रियासम्बन्धी एक महत्त्वपूर्ण प्रस्तावको पक्षमा मतदान गर्न सचेतकहरूले सत्तारूढ दलका सांसदहरूलाई बाध्य पारेको र दुव्र्यवहार गरेको विषयका समाचारहरू प्रकाशमा आएपछि ट्रसको राजीनामाको चर्चा सुरु भएको थियो ।

बेलायतमा आम चुनाव हुन झन्डै दुई वर्ष बाँकी छ । तर प्रमुख विपक्षी लेबर पार्टीका नेता कियर स्टार्मरले सत्तारूढ दलले आफ्नो म्यान्डेट गुमाएको भन्दै तत्काल आमचुनाव गराउन माग गरेका छन् । ‘ट्रसले हिजो मात्रै आफू एक लडाकु भएको बताएकी थिइन् । तर सरकार, संसद् र सत्तारूढ दलमा यस्तो भद्रगोल उत्पन्न भयो कि उनले आफू अघि बढ्न नसक्ने अवस्थामा पुगेको देखिएको छ,’ उनले भने । उनले पटकपटक कन्जरभेटिभ दलको नेतृत्वको परीक्षण गर्न नसकिने जनाउँदै लेबरले राजनीतिक स्थायित्व ल्याउने दाबी गरे ।

ट्रसको राजीनामासँगै बेलायतमा राजनीतिक अस्थिरताको शृंखला पुन: दोहोरिएको छ । ट्रसले नेतृत्व सम्हालेको डेढ महिना पुग्न नपाउँदै उनको मन्त्रिपरिषद्का केही सदस्यहरूले राजीनामा दिएका थिए ।

गृहमन्त्री ब्रेभरम्यानको राजीनामा र केही दिनअघि अर्थमन्त्री क्वासी बर्खास्त भएपछि बेलायती राजनीति तरंगित हुन सुरु भएको थियो । देशको अर्थतन्त्र नै धराशायी हुनेतर्फ उन्मुख भएपछि प्रधानमन्त्री ट्रसले उनका विश्वासपात्र अर्थमन्त्री क्वासी क्वार्टेनलाई बर्खास्त गर्न बाध्य भएकी थिइन् ।

राजनीतिक खिचातानीसँगै चुलिँदो आर्थिक संकटका कारण ट्रसको राजनीतिक भविष्य धरापमा पर्‍यो । खासगरी बेलायती मुद्राको अवमूल्यन र आर्थिक अस्थिरताले ट्रस पद त्याग्न बाध्य भएकी हुन् । नयाँ अर्थमन्त्री जेरेमी हन्टले गत सोमबार उनका पूर्ववर्ती अर्थमन्त्रीले घोषणा गरेका अधिकांश आर्थिक नीति खारेज गरेका थिए । खासगरी उनले उर्जाको नियन्त्रित मूल्य र आयकरबारेमा सर्वसाधारणलाई प्रभाव पर्ने नीतिगत परिवर्तन गरेका हुन् ।

We क्वासीले घोषणा गरेको आधारभूत आयकर २० प्रतिशतबाट १९ प्रतिशतमा झार्ने नीति पनि हन्टले खारेज गरिदिएका थिए । त्यस्तै, बढ्दो उर्जाको मूल्यबाट जनतालाई राहत दिन वार्षिक २ हजार ५ सय पाउन्डमा सीमित गरिएको ऊर्जाको मूल्य पनि अप्रिल १ सम्म मात्र कायम गरिने घोषणा गरे । यसअघि प्रधानमन्त्री ट्रसले आफू पदमा आउनासाथ दुई वर्षका लागि ऊर्जाको मूल्य २ हजार ५ सय पाउन्ड कायम रहने वाचा गरेकी थिइन् । कर्पोरेसन कर र बढी कमाइ हुनेहरुका लागि घटाइएको आय करको दर फिर्ता गर्न पनि सरकार बाध्य भयो ।

ताजा समाचार