रुस–युक्रेन युद्ध : २ सय ४४ जना नेपाली सुरक्षित स्थानमा 

काठमान्डौ

रुस–युक्रेन युद्धबाट  प्रभावितमध्ये २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । युक्रेनमा रहेका द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना,  माल्डावामा २ जना  सकुशल पुगेका छन् । 

यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्याण्डको सीमामा १ सय ३० जना स्लोभाकियाको सीमा १२ जान, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा २ जना नेपालीहरु दोस्रो मुलुक जान रोकिएका छन्। उनीहरुले सोमवार साँझसम्म सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।
गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै बसोबास गर्दै आएका छन् । 

उद्धार उच्चस्तरीय समितिका अध्यक्ष  जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षमा आइतवार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो । 

बैठकमा बोल्दै राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए ।  गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र अल्ली खुकुलो बनाएको कारणले नेपालीहरु बाहिर निस्कन सहज भएको बताए । 

ताजा समाचार