टर्की-ग्रीस सीमामा चिसोले कठ्यांग्रिएर १९ आप्रवासीको मृत्यु 

काठमाडौँ

टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या १९ पुगेको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुका अनुसार टर्की र ग्रीसको सीमा इप्सालामा चिसोले कठ्यांग्रिएर आप्रवासीको मृत्यु भएको हो ।

मन्त्री सोयुलुका अनुसार अहिलेसम्म मृतकहरु कुन देशका हुन् भन्ने खुल्न सकेको छैन । बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् । कतिपय आप्रवासी जुत्ता/चप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको पाइन्छ । ग्रीसको सीमा बलले २२ जनाको आप्रवासीहरूको समूहविरुद्ध ठगले झैं काम गरेको मन्त्री सोयुलुको भनाइ छ । मृत्यु हुनेहरू त्यही २२ जनाको समूहका व्यक्ति भएको उनले जानकारी दिएका छन् । उनले युरोपेली युनियनले पनि मानवीय व्यवहार नदेखाएको आरोप लगाएका छन् ।

ग्रीसले भने आफ्ना कारण आप्रवासीको मृत्यु नभएको बताएको छ । ग्रीसका आप्रवासन मन्त्री नोटिस मिटाराचीले ट्विटरमा भनेका छन्, ‘टर्कीनजिकै इप्साला सीमामा १२ आप्रवासीको मृत्यु भएको कुरा निकै दु:खद हो । उनीहरू ग्रीस छिर्न खोजेका थिएनन् ।’ उनले टर्कीका आन्तरिक मामिलामन्त्रीको आरोप ‘प्रचारबाजी’ मात्र भएको पनि बताएका छन् । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले पनि बिहीबार आप्रवासीलाई ग्रीसले जबरजस्ती फिर्ता पठाउने गरेको उल्लेख गर्दै उसको ‘वास्तविक तस्बिर’ उजागर गर्ने बताएका छन् ।

ताजा समाचार