काठमाडौँ
दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ । बेलायतका विज्ञहरुका अनुसार उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको दाबी गरेका छन् ।
यो भेरियन्टलाई ‘बी.१.१.५२९’ नाम दिइएको छ । मंगलबार पुष्टि भएको यो भेरियन्ट धेरै संख्यामा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरुले कोभिडविरुद्ध बनेका खोप नयाँ देखिएको भेरियन्टमा प्रभावकारी नहुन पनि सक्ने भनेर चिन्ता व्यक्त गरिरहेका छन्।
दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियराले यसअघि देखिएका भेरियन्टमध्ये यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको बताएका छन् ।
उनले यो भेरियन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन केवल स्पाइक प्रोटिनमा मात्रै भएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार भाइरसको धेरै उत्परिवर्तनहरू खराब हुन्छन् भन्ने हुँदैनन् तर, उत्परिवर्तनले के गर्छन् भन्ने थाहा पाउन भने जरुरी हुन्छ ।
सबै उत्परिवर्तन भाइरसका लागि राम्रो हुँदैनन् तर, यदि स्पाइक प्रोटिन परिवर्तित भयो भने रोगप्रतिरोधी क्षमतामा पनि परिवर्तन हुन्छ । जसले संक्रमण गराउन र फैलाउन पनि सक्छ । हालसम्म कोभिड यो भेरियन्ट बोत्सवाना, दक्षिण अफ्रिका र हङकङमा गरी ५९ जनामा देखिएको छ ।