भारतीय प्रधानमन्त्री मोदी विश्वकै सबभन्दा ‘लोकप्रिय नेता’, बेइजिङमा असामान्य हिमपातपछि १० वर्ष यताकै सबभन्दा बढी जाडो हुन सक्ने

‘मर्निङ कन्सल्ट’ नामक अध्ययन संस्थाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सबभन्दा लोकप्रिय सरकार प्रमुखमध्ये पहिलो स्थानमा रहेका छन्। उनले विश्वका अन्य नेताहरूलाई पछि पार्दै लोकप्रिय नेताहरूमध्ये पहिलो स्थानमा पर्न सफल भएका हुन्। आइतबार चीनमा भएको भारी हिमपातको समाचार पनि चर्चामा रह्यो। हिमपात सुरु हुने सामान्य दिनभन्दा करिब एक महिनाअघि नै भारी हिमपात भएको हो। प्रस्तुत छ, आइतबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :

भारतीय प्रधानमन्त्री मोदी विश्वकै सबभन्दा ‘लोकप्रिय नेता’
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री विश्वकै सबभन्दा बढी लोकप्रिय सरकार प्रमुखमध्ये पहिलो स्थानमा परेका छन्। अमेरिकी अनुसन्धान संस्था ‘मर्निङ कन्सल्ट’ ले गरेको सर्वेक्षणमा मोदी पहिलो भएका हुन्।

प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, जर्मनीकी चान्सलर एन्जेला मर्केलगायतलाई पछि पार्दै पहिलो भएका हुन्। उनले मूल्याङ्कनमा ७० प्रतिशत अंक प्राप्त गरेका छन्। 

सर्वाधिक लोकप्रिय नेताको दोस्रो स्थानमा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर रहेका छन्। उनले ६६ प्रतिशत मूल्याङ्कन अंक प्राप्त गरेका छन्। त्यस्तै इटालीका प्रधानमन्त्री मारियो ड्रागीले ५८ प्रतिशत प्राप्त गर्दै तेस्रो भएका छन्। जर्मनीकी चान्स्लर एन्जेला मर्केलले ५४ प्रतिशत अंक प्राप्त गर्दा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ४७ अंक प्राप्त गरे।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने ४४ प्रतिशत अंक प्राप्त गर्दै छैठौँ स्थानमा रहेका छन्।
०००

भारतको तामिलनाडुमा भारी वर्षा, विद्यालय बन्द
चेन्नई : भारतको तामिलनाडु प्रान्तमा भारी वर्षा भएको छ। वर्षाका कारण डुबान भएपछि चार जिल्लाका विद्यालयहरू कम्तिमा दुई दिनका लागि बन्द गरिएका छन्।

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेकाको उद्धार कार्य भइरहेको बताइएको छ। राष्ट्रि विपद् प्रतिक्रिया बलले उद्धारमा थप सहयोग गर्न माग गरेको समाचार एनडीटिभीले लेखेको छ।

मौसम पूर्वानुमान विभागले तामिलनाडुमा बंगालको खाँडीमा चक्रपात सञ्चारका कारण अझै भारी वर्षा हुने अनुमान गरेको छ।

पछिल्लो समय जलवायु परिवर्तनसँगै विश्वको मौसममा असामान्य परिवर्तन हुने गरेको छ। हालसालै नेपालमा पनि बेमौसमी भारी वर्षाका कारण ठूलो धनजनको क्षति गरेको थियो।
०००

बेइजिङमा असामान्य हिमपात, १० वर्ष यताकै सबभन्दा कम तापक्रम हुन सक्ने
बेइजिङ : चीनको राजधानी बेइजिङ भारी हिमपात भएको छ। शनिबारदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

यसपटक बेइजिङमा सामान्य हिमपात सुरु हुनभन्दा करिब एक महिना पहिले नै हिमपात भएको हो। हिमपातकै कारण बेइजिङको तापक्रम १० वर्ष यताकै न्यून हुन सक्ने अनुमान गरिएको छ। 

लगातारको हिमपातका कारण उडानहरू स्थगित गर्ने अवस्थामा पुगेको छ भने बस सेवा समेत बन्द गर्ने अवस्था आएको ग्लोबल टाइम्सले जनाएको छ। टाइम्सको समाचार अनुसार ५६ हजार सुरक्षाकर्मी आपत्कालिन व्यवथापनका लागि तयारीसँगै थप तयारी गरिएको छ।
०००

इन्डोनेसियामा शक्तिशाली भूकम्प
जाकार्ता : इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। पूर्वी क्षेत्रमा शनिबार ६.२ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ।

शनिबार करिब साढे ९ बजे भूकम्प गएको हो। २० किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्रविन्दु बोलाङ मोंगोन्डो जिल्लाबाट दक्षिणपूर्वी ७१ किलोमिटर पर रहेको बताइएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण हालसम्म नआएको समाचारमा उल्लेख छ। 

इन्डोनेसिया धेरै भूकम्प जाने मुलुकमध्ये एक हो। 
०००

ड्रोन आक्रमणपछि संयमित हुन इराकी प्रधानमन्त्री काधिमीको आग्रह
बगदाद : ड्रोन हमलाबाट बाँच्न सफल इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमिले जनतालाई संयमित हुन आग्रह गरेका छन्। आइतबार भएको सो हमलाबाट उनी सुरक्षित भएका थिए। 

सो हमलापछि आक्रोशित भएका इराकीलाई ‘मुलुकको हित र भविष्यका लागि’ संयमित हुन आग्रह गरेको समाचार सीजीटीएनमा छ। उनले आक्रमणपछि एक भिडियो सन्देशमार्फत् यस्तो बताएका हुन्।

सन्देशमा प्रधानमन्त्री काधिमीले राष्ट्रको हित र भविष्यका लागि काम गरिरहेकामाथि भएको त्यस किसिमको हमला कायरहरूले गरेको बताए। उनले सबै राजनीतिक दलसँग संयमित गर्न भन्दै छलफल समेत गरेका छन्।

बगदादमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच शुक्रबार भएको भीडन्त पछिको अवस्था बुझेर फर्कदै गर्दा उनीमाथि ड्रोन आक्रमण गरिएको हो। शुक्रबार इरान समर्थक मिलिसिया र इराकी सुरक्षाकर्मीबीच भिडन्त भएको थियो। जसमा कम्तिमा एक जनाको मृत्यु र दर्जनौं घाइते भएका थिए।

ताजा समाचार