शाहरुखका छोरा २५ दिनपछि जमानतमा रिहा

मुम्बई — लागूऔषध मुद्दामा २५ दिनदेखि हिरासतमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान बिहीबार जमानतमा रिहा भएका छन् ।

मुम्बई उच्च अदालतले आर्यनसहित अर्बाज मर्चान्ट र मुनमुन धमेचालाई पनि रिहा गरेको हो । मुम्बई प्रहरीको लागूऔषध नियन्त्रण शाखाको टोलीले गत अक्टोबर २ मा मुम्बईस्थित समुद्री किनारमा रहेको क्रुज सिपबाट आर्यनसहित ८ जनालाई पक्राउ गरेको थियो ।

अन्यलाई पक्राउ गरेको केही घण्टामै रिहा गरे पनि आर्यनसहित तीनजना आरोपी २५ दिनपछि जमानतमा रिहा भएका हुन् । तेस्रोपटकको सुनुवाईपछि बल्ल आर्यन छुटेका हुन् । मुम्बई उच्च अदालतका न्यायाधीश नितिन सम्ब्रेको एकल इजलासले बिहीबार उनीहरुलाई रिहा गरेको हो ।

आर्यनको रिहाइसँगै अभिनेता शाहरुख खानले आफ्ना वकिल सतीश मानसिन्दे र उनको टोलीसँग सामूहिक तस्बिर खिचाएका छन् । मानसिन्देले नै उक्त तस्बिर सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जहाँ शाहरुख मुस्कुराउँदै कानुन व्यवसायीको टोलीको बीचमा उभिएका छन् ।

भारतकै महंगो वकिलमध्ये एक मानिने मानसिन्दे त्यस्ता कानुन व्यवसायी हुन् जसले यसअघि थुप्रै बलिउडकर्मीको पक्षमा वकालत गरेका छन् । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडिएकी रिया चक्रवर्तीको पक्षमा उनैले वकालत गरेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार कालो हरिण शिकार मुद्दाका अभियुक्त सलमान खान र मुम्बई बम हमला मुद्दामा जोडिएका सञ्जय दत्तको पक्षमा पनि मानसिन्देले नै वकालत गरेका थिए । पछिल्लो पटक आर्यनको पक्राउपछि सलमान खानले यस मुद्दामा वकालत गर्न उनै मानसिन्देलाई ‘हायर’ गर्न शाहरुखलाई सुझाव दिएका थिए ।

बिहीबार राति आर्यनको स्वागतार्थ घर अगाडि भेला भएका थुप्रै प्रशंसक तथा समर्थकले भव्य रुपमा आर्यनको रिहाइको खुसियाली मनाएका थिए ।

ताजा समाचार