काठमाडौं । अफगानिस्तानमा आफ्ना सेना फिर्ता लिएसँगै तालिवानको कब्जामा देश गएको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो बचाऊ गर्दै अरुलाई नै दोष दिएर पन्छिन खोजेका छन् ।
अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताउँदै उनले उनले काबुलका हृदय विदारक दृश्यका बावजूद अमेरिकी फौज हटाउने उपयुक्त समय कहिल्यै पनि हुने नसक्ने बताए ।
सोमबार अफगानिस्तान संकटको विषयमा ह्वाइटहाउसबाट सम्बोधन गर्दै उनले भनेका छन्, ‘म मेरो निर्णयमा अहिले पनि अडिग छु, २० वर्षको अवधिमा मैले थाहा पाएको कुरा के हो भने अफगानिस्तान छोड्ने राम्रो समय कहिल्यै पनि आएन। त्यही भएर हामी अझै त्यहाँ छौं।’
बाइडेनले यति छिटै तालिबानहरूले काबुल कब्जा गर्लान् भन्ने आफूहरूलाई नलागेको भए पनि सेना फर्किने निर्णय सही भएको बताए ।
अमेरिकी सेनाले २० वर्षसम्म अर्बौं डलर खर्चेर बनाएका अफगान सुरक्षा फौजले केही महिनासम्म भए पनि तालिबानलाई रोक्ने छन् भन्ने ह्वाइटहाउसको विश्वास थियो।
‘यो सबै हामीले सोचेभन्दा निकै छिटो भएको सत्य हो। त्यसपछि के भयो ? अफगान नेताहरूले लत्तो छोडे र देशबाट भागे। अफगान सुरक्षा फौजले पनि तालिबानलाई छोडिदिए कतिपय ठाउँमा त लड्ने प्रयास पनि गरेनन्,’ बाइडेनले भने।
उनले आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प प्रशासनलाई पनि अहिलेको अवस्था आउनुमा दोष लगाए।
ट्रम्प प्रशासनले तालिबानहरूसँग दोहामा शान्ति वार्ता गरेर अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजाने निर्णय गरेको थियो।
अफगान राष्ट्रपति अशरफ गनीले देश छाडेर उनको सरकार ढलेपछि आइतवार तालिबानले लडाइँ जितेको घोषणा गरेको थियो।
सशस्त्र विद्रोहीहरू पुन: सत्तामा आउने अवस्थासँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति अन्त्य भएको छ।
तालिबानको नियन्त्रणमा जाने काबुल अन्तिम प्रमुख सहर बनेको छ।
तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए।
पछिल्ला दिनहरूमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे।
तालिबानको यस्तो तीव्र विस्तारले धेरै विश्लेषकलाई पनि झड्का लगाइदिएको छ।
राष्ट्रपति बाइडन क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर करिब एक सातापछि अफगानिस्तानबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले भने, “जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य संलग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गर्छ।अफगान फौजले उनीहरूकै लागि लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् र लड्नु र युद्धमा मर्नु हुँदैन।”
अमेरिकी सैन्य फिर्तीको उनको निर्णयपछि काबुलमा देखिएको उथलपुथललाई लिएर बाइडनले चर्को राजनीतिक आलोचनाको सामना गर्नुपरेको छ।