काठमाडौं । अफगानिस्तानको राजधानी काबुल समेत तालिबानले कब्जा गर्ने देखिएसँगै शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अफगानिस्तान सरकार तयार भएको छ ।
अलजाजिराका अनुसार गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले एक भिडियो सन्देशमा सत्ता हस्तान्तरण गरिने बताएका छन् ।
तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘अफगान जनताले चिन्ता गर्नुपर्दैन, सहरमा कुनै हमला हुँदैन । संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन्छ’।
उक्त भिडियो स्थानीय टोलो टीभीले प्रसारण गरेको छ । उनले काबुलमा तालिबानले आक्रमण नगर्ने बताए । तालिबानका वार्ताकारहरू शक्ति हस्तान्तरणका लागि कुराकानी गर्न राष्ट्रपति भवनतर्फ जाँदै गरेको एपीले खबर दिएको छ ।
यसअघि तालिबानले शान्तिपूर्ण रुपमा सरकार छोड्न र आत्मसमर्पण गर्न चेतावनी दिएको थियो ।
तालिबानले यसअघि आफ्ना लडाकूहरूलाई काबुल शहरको मुख्यद्वारमा बसिरहन निर्देशन दिएको छ ।
यस्तै विद्रोही समूह शक्ति हस्तान्तरणको वार्ता गर्न राष्ट्रपति कार्यालय जाने भएका छन्।
एक जना सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान वार्ताकारहरू राष्ट्रपति कार्यालय जाँदै छन्।
यसअघि आजैमात्र पूर्वी सहर जलालावाद कब्जामा लिएका तालिबानहरूले राजधानी काबुलमा भिडन्त गरेर नपस्ने बताएका थिए।
आइतबार विज्ञप्ति जारी गर्दै तालिबानका प्रवक्ताले आफ्ना लडाकुहरूलाई काबुलको गेटमा बस्न भनेका थिए। शान्तिपूर्ण रूपमा काबुलमा पस्नेबारे छलफल भइरहेको उनले बताएका थिए।
तालिबानले काबुल बाहेक सबै शहर हरूलाई कब्जा गरिसकेको छ भने राजधानी काबुल पनि कब्जा गर्ने तयारी स्वरुप चारैतिरबाट लडाकूहरुले घेरेका छन् ।
राष्ट्रपतिले बोलाए आपतकालिन बैठक
चारैतर्फबाट तालिबानी लडाकूहरुले घेर्न थालेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले अहिले अमेरिकी विशेष दूत जाल्मे खलिलजाद र शीर्ष नेटोका अधिकारीसँग वार्ता गरिरहेका छन् ।
देश गम्भीर संकटमा परेको बताएका उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका हुन् । अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताएका थिए ।
तर आइतबार बिहानैदेखि तालीबानीहरु चारैतिरबाट काबुलमा पस्न थालेपछि राष्ट्रपतिले बैठक बोलाएका हुन् । अमेरिकी सेना फिर्ता भएपछि त्यहाँ तालिबानले आफ्नो सक्रियता बढाएको छ । काबुल बाहेक सबै शहरहरु उसले नियन्त्रणमा ल्याइसकेको छ । अब काबुल समेत नियन्त्रणमा ल्याउने तयारी छ ।