यूरोकपको नकआउट चरण आजदेखि

एजेन्सी

युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको खेलहरु शनिबारदेखि सुरु हुँदा पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ए’ को उपविजेता वेल्स र समूह ‘बी’ को उपविजेता डेनमार्क तथा अर्काे खेलमा समूह ‘ए’ को विजेता इटाली र समूह ‘सी’ को उपविजेता अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र डेनमार्कबीचको खेल योहान क्रुएफ एरिना आम्स्टर्डममा नेपाली समयअनुसार राति ९ः४५ बजे तथा इटाली र अष्ट्रियाबीचको खेल वेम्वली स्टेडियम लन्डनमा राति १२ः४५ बजे हुनेछ ।

सन् २०१६ मा सेमिफाइनलमा पुगेको वेल्स यो संस्करणमा पनि आफ्नो प्रतिद्वन्द्वीलाई पन्छाउँदै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । यता, समूह चरणको अन्तिम खेलमा नाटकीय जित रच्दै अघिल्लो चरणको यात्रा तय गरेको डेनिस टोली वेल्सलाई स्तब्ध पार्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ ।

लन्डनमा अष्ट्रियाविरुद्ध मैदान उत्रदा उपाधि दावेदार इटाली जित हात पार्दै आफैले राखेको ८२ वर्ष पुरानो कीर्तिमान भंग गर्ने लक्ष्यमा हुनेछ । अन्तर्राष्ट्रिय फुटबलमा इटाली लगातार ३० खेल अपराजित रहेर दुर्लभ कीर्तिमानको नजिक छ । इटालीले अष्ट्रियालाई हराउन सके नयाँ किर्तिमान राख्नेछ ।

इटालीले वेल्समाथि जितसँगै ८२ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको थियो । इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदक समेत जितेको थियो 

इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ । पछिल्लोपटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३० खेल जितेको छ । अझ पछिल्लो ११ खेलमा टोलीले गोल पनि खाएको छैन र ३२ गोल गरेको छ ।

यता, पहिलोपटक नकआउट चरणमा पुगेको अष्ट्रिया उपाधि दावेदार इटालीलाई स्तब्ध पार्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । समूह चरणमा मिश्रित प्रदर्शन गरेपनि अष्ट्रियाले इटालीलाई हराउने त्यति सहज हुनेछैन । तर जुनसुकै पोजिसनमा खेल्न सक्ने कप्तान डेभिड अलाबा इटालीको लागि भारी पर्न सक्छन् ।

ताजा समाचार