काठमाडौं । नेपालमा आइतबार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । लगातार तेस्रो दिन आइतवार पछि निको हुनेको संख्या धेरै छ ।
आइतबार दुई हजार दुई सय ६० जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १२ हजार सात सय १२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई सय ५९ जनाको पीसीआर र तीन हजार ३८ जनाको एन्टिजेन गरी १० हजार दुई सय ९७ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ४७ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।
आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ४२ हजार एक सय ९३ पुगेको छ ।
यही अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय १४ पुगेको छ ।
अहिले नेपालमा ३५ हजार सात सय ९६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय २५ जनाको आईसीयू र एक सय ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।