इलामका बन्द चिया उद्योग खोल्ने बन्यो सहमति

विराटनगर — भारतको चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड (एसओपी)का कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिकास्थित ५३ वटा चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन् ।

सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको छलफलपछि उद्योग सञ्चालन गर्ने विषयमा तीन बुँदे सहमति भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले जनाए । उनका अनुसार भारतीय बजारमा चिया निर्यात सहज नहुन्जेल उद्योगमा थन्किएको करिब १० लाख किलोग्राम चिया भण्डारणका लागि नगरपालिकाले व्यवस्थित भण्डार कक्षको व्यवस्था गर्नेछ । यस्तै, बजार अवस्था सहज नहुन्जेल किसानलाई दिने भुक्तानी केही समयका लागि स्थगित गर्ने सहमति उद्योगी र किसानबीच भएको छ ।

त्यसैगरी, चियाको गुणस्तर सुधार गर्न विषादीको प्रयोग पूर्ण रूपमा निषेध गर्दै नगरपालिका, उद्योगी र किसानको सहभागितामा सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सहमतिमा उल्लेख छ ।

भारतले मे १ देखि लागू गरेको नयाँ नियमअनुसार प्रत्येक चिया बोकेको गाडीको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन करिब १५ दिन लाग्ने तथा प्रतिगाडी भारतीय रुपैयाँ ११ हजार ५ सय शुल्क तिर्नुपर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यात प्रभावित बनेको थियो । निर्यात ठप्प भएपछि सूर्योदयका उद्योगहरू बन्द भएका थिए । उद्योग बन्द भएसँगै किसानले दैनिक ६० देखि ७० गाडी हरियो चिया झापाका सीटीसी उद्योगमा बिक्री गर्न बाध्य भएका थिए ।

नेपालमा वार्षिक करिब १५ हजार ६ सय मेट्रिक टन चिया उत्पादन हुने गरेको छ, जसमध्ये ८६ प्रतिशत भारत निर्यात हुने गरेको छ । देशभर २० हजार ६ सय २ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । यस क्षेत्रमा १५ हजारभन्दा बढी कृषक तथा करिब ६० हजार श्रमिक प्रत्यक्ष रूपमा आश्रित छन् ।

ताजा समाचार