काठमान्डौ
गत वर्षको तुलनामा यो आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह निरन्तर गिरावट आएकोमा बैशाख महिनादेखि बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैशाख महिनासम्म शून्य दशमलव २ प्रतिशतले रेमिट्यान्स बढेको हो।
चालू आर्थिक वर्षको साउनदेखि नै रेमिट्यान्स आप्रवाह घटिरहेको थियो। तर १० महिना सम्मको समीक्षामा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले वृद्धि भई ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २९८ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो।