निगमको वाइडबडीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमोन्स्ट्रेसन’ उडान गर्दै 

भैरहवा — नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बिहीबार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘डेमोन्स्ट्रेसन’ उडान गर्ने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले बुधबार निगमलाई भर्खरै निर्माण सम्पन्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिएको थियो । प्राधिकरणले निगमसँग भएका दुईटा वाइडबडी विमानलाई बिहीबारका लागि डेमोन्स्ट्रेसन उडानका लागि अनुमति दिएको हो । 

पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा हुन लागेको डेमोन्स्ट्रेसन उडानमा कम्तीमा २ सय ५० जना यात्रु सहभागी हुने छन् । जसमा प्राधिकरणका उच्च अधिकारी, निगमका कर्मचारी, उच्च सरकारी अधिकारी, एसियाली विकास बैंकका प्रतिनिधिलगायत छन् । 

प्राधिकरणले काठमाडौंबाट हुने उडानलाई आरएनए १७३१ र भैरहवाबाट काठमाडौंका लागि हुने उडानलाई आएएनए १७३२ नम्बर दिएको छ । निगमको वाइडबडी विमान दिउँसो ३ बजे भैरहवा उड्ने कार्यक्रम राखिएको छ । यात्रुलाई आन्तरिक टर्मिनल भवनबाट अन्तर्राष्ट्रिय पार्किङ वेमा रहेको विमान राखिने काठमाडौं विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

निगमको अपरेसन विभागका अनुसार, वाइडबडीको काठमाडौं भैरहवा उडान अवधि २७ मिनेट लगाउने छ । यस उडानमा वाइडबडीका प्रशिक्षक पाइटल सुधिर तोमार र क्याप्टेन श्रवण रिजाल रहने निगमले जनाएको छ । 

उडान सकिएलगत्तै निगमले प्राधिकरणलाई प्रतिवेदन बुझाउनुपर्ने छ । यो उडानपछि भैरहवा व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडानका लागि खुला हुने छ । भैरहवामा फागुनमा एरो थाईले क्यालिब्रेसन उडान गरेपछि गत सातादेखि उक्त धावनमार्ग आन्तरिक वायुसेवाहरुका लागि खुला भइसकेको छ ।

ताजा समाचार