काठमाडौँ
काठमाडौं उपत्यकामा यस वर्षको मार्च महिना ५४ वर्षयताकै सबैभन्दा बढी गर्मी मार्च महिना भएको छ । १९६८ यताको काठमाडौंको उपलब्ध तथ्याकंअनुसार २०२२ को मार्च अर्थात् फागुन १७ देखि चैत १७ गतेसम्मको अवधि सबैभन्दा बढी गर्मी वर्ष महिना रह्यो ।
हिउँद सकिने र प्री-मनसुन मौसम सुरु हुने महिनाको रुपमा मार्चबाट बिहान बेलुका चिसो र दिउँसो न्यानो हुन सुरु हुन्छ । तर यस वर्षको मार्च महिना अलि फरक रह्यो । बिहान बेलुका मात्रै होइन यस महिना दिउँसो पनि अघिल्ला वर्षहरुभन्दा बढी न्यायो महशुस भयो।
मार्चको तेस्रो सातामा आइपुग्दा अधिकांश दिनमा औषतभन्दा बढी तापक्रम मापन भएको छ । जसले मार्च महिनाको तथ्यांक राख्न सुरु गरेयताकै सबैभन्दा तातो बन्न पुग्यो ।
काठमाडौंको १९६८ देखिको मौसमी तथ्यांक अध्ययन गर्दा यसपटकको मार्चमा काठमाडौंको औषत तापक्रम २०.४ डिग्री सेल्सियस रह्यो । जबकि काठमाडौं गौचरनस्थित मौसम मापन केन्द्रको मार्च महिनाको सामान्य औषत तापक्रम १७.४ डिग्री सेल्सियस छ । औषत तापक्रम ३० वर्षमा सम्बन्धित महिनाको अधिकतम र न्युनतमलाई गणना गरेर निकाल्ने गरिन्छ ।
अहिले १९९१ देखि २०२० सम्मको अधिकतम र न्युनतम तापक्रमको आधारमा निकालिएको हो । काठमाडौंमा औषत न्युनतम तापक्रम ८.८ र अधिकतम २५.५ डिग्री सेल्सियस रहेको छ । यसपटक मार्च महिनाको औषत अधिकतम तापक्रम २८.२५ डिग्री सेल्सियस र न्युनतम १२.२५ सेल्सियस रह्यो ।
यसअघि यस्तै न्यानो मार्च महिना १२ वर्षअघि अर्थात् २०१० थियो । २०१० मार्चको औषत तापक्रम काठमाडौंको २० डिग्री सेल्सियस थियो । जबकि २०२१ मार्चमा औषत तापक्रम १८.४ रह्यो । २०२० मा भने १७.१ र २०१९ मा १६.८ डिग्री सेल्सियस थियो । त्यसैगरी २०१८ मार्चमा १८.४, सन् २०१७ मा १६.८ र २०१६मा १८.७ सेल्सियस रहेको थियो ।
‘१९६८ देखि मौसम विभागले नियमित रुपमा राख्न थालेको तथ्यांकलाई विश्लेषण गर्दा गत ५४ वर्षको मार्चमध्ये यस वर्षको मार्च महिना सबैभन्दा गर्मी रह्यो’ वातावरण तथा जलवायु अनुसन्धानकर्ता पियुष दाहालले भने, ‘यो मार्च महिनाको औषत अधिकतम र न्युनतम तापक्रम यो ५४ वर्षमा बढी हो । काठमाडौंमा कुनै दिन औषतभन्दा लगभग ८ डिग्री सेल्सियससम्म बढेको छ भने अधिकतम औषतभन्दा ५ डिग्री सेल्सियससम्म बढेको छ ।’
काठमाडौंको गौचरनस्थित नेपाल जल तथा मौसम विज्ञान विभागको मापन केन्द्रको तथ्याकंले यो मार्च महिना सबैभन्दा बढी १९ तारिखमा ३१.५ डिग्री सेल्सियस मापन गरेको थियो । यस वर्ष काठमाडौंमा मार्चको अन्तिम दिन अर्थात् चैत १७ मा सबैभन्दा बढी न्युनतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्यो ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार ललितपुरको खुमलटार र भक्तपुरको चाँगुनारायणमा रहेका मौसम मापन केन्द्रहरुको न्युनतम र अधिकतम तापक्रममा पनि नयाँ रेकर्ड बनेको देखिएको छ । चाँगुमा चैत १६ मा न्युनतम तापक्रम १६.५, र खुमलटारमा १७.५ डिग्री सेल्सियस रहेको थियो । दुवै आफैंमा रेकर्ड बनेका थिए ।
देशभर बढेको छ तातो
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानको मार्चमा विभिन्न मापन केन्द्रमा अधिकतम तथा न्युनतम तापक्रमतर्फ रेकर्ड बनेको जनाएको छ । अर्थात् पछिल्ला वर्षहरूका मार्च महिना गर्मी बढ्न थालेका छन् ।
देशका विभिन्न स्थानको मौसम मापन केन्द्रहरुको मापनमा पनि यस वर्ष न्युनतम र अधिकतम तापक्रम रेकर्ड निर्माण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्युनतम तापक्रम बढी हुनु भनेको राति वा बिहान पनि न्यानो हुने अवस्था हुन्छ ।
अहिले हामीले अनुगमन गरिरहेको २० वटा स्टेसनमा तथ्यांक हेर्दा मार्च महिनाको तापक्रम सरदरभन्दा बढी रहेको छ । मार्च महिना औषतभन्दा तातो रहेको देखिन्छ । कुनै कुनै स्टेसनहरुमा मार्च महिनाका दिनहरुमा सरदरभन्दा ६ डिग्री बढिरहेको छ,’ जल तथा मौसम विज्ञान विभागको जलवायु विभागकी प्रमुख इन्दिरा कंडेलले भनिन्, ‘यसपटकको हिउँदमा केही पानी पर्यो र प्री मनसुन पनि भएन । वर्षा गराउने प्रणाली सक्रिय नहुँदा जति हुनुपर्ने हो त्यति वर्षा भएकै छैन । त्यसले तापक्रम बढाएको हो ।’
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सह प्राध्यापक विनोद पोखरेल सामान्यता अप्रिल महिनामा निर्माण हुने उच्च चापीय प्रणाली यसपटक मार्चमा देखिएको र जसले पश्चिमी वायुलाई यस क्षेत्रमा आउन नदिएर वर्षा भएको बताउँछन् ।
‘यस वर्ष मार्च महिनामा गर्मी भएको देखिन्छ । नेपाल, भारत र पाकिस्तानमा पनि मार्च महिनामा सरदरभन्दा बढी गर्मी रह्यो’ पोखरेलले भने, ‘अहिले वायु प्रदूषण बढ्नुको प्रमुख कारण त्यो पनि हो । हावाको गति जति मात्रामा हुनुपर्ने थियो त्यो औषतभन्दा निकै कम रह्यो ।’
जल तथा मौसम विभागले उपलब्ध गराएको तथ्याकंहरुमा तराईका जिल्लाहरुमा भन्दा यस पटक पहाडी जिल्लामा न्युनतम र अधिकतम तापक्रममा उल्लेख्य वृद्धि देखिन्छ । मुस्ताङको जोमसोममा चैत ३ मा अधिकतम तापक्रमको रेकर्ड बन्यो । त्यस दिन अधिकतम तापक्रम २४.२ डिग्री सेल्सियस पुगेको थियो । जबकि जोमसोममा मार्चको औषत अधितकतम तापक्रम १५.२ डिग्री सेल्सियस मात्रै हो ।