पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ बाट संचालन हुने

पोखरा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो जनवरी १ देखि आन्तरिक र वैशाख १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।

विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले निर्माण कार्य ८७ प्रतिशत सम्पन्न भएको बताएका छन् । उनका अनुसार सुरुवातमा पोखराबाट हङकङ, दिल्ली, दोहा र थाइल्यान्डमा सिधा उडान गर्ने तयारी भइरहेको छ ।

यी सहरलाई ट्रान्जिट बनाएर अन्य मुलुकबाट पनि जहाज आउन सक्छन् । झण्डै २२ अर्ब रुपैयाँ लागतमा सन् २०१७ नोभेम्बरदेखि ३ हजार ८ सय ९९ रोपनीमा विमानस्थल निर्माण कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार फोर डी मोडलमा विमानस्थल बनिरहेको छ ।

निर्माण पूरा भएपछि १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ए३२० र बोइङ ७५७ वा सो सरहका जहाज आउजाउ गर्न सक्ने आयोजनाले बताएको छ । फोर डी श्रेणीको भएकाले यसको रनवे लम्बाई २ हजार ५ सय मिटर छ ।

ताजा समाचार