चाडपर्वसगै भित्रियो २०७ टन फूल

काठमाडौँ — पूजाआजा र सजावटका लागि भित्र्याइने फूलका लागि नेपाली पैसा मनग्य बिदेसिने गरेको छ । चाडबाड, मेला तथा उत्सव र मालाकै लागि हुने बजारको माग धान्न फूल आयातमा मासिक ५० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुन थालेको छ 

गत असोजमा मात्रै नेपालमा भारतबाट ७४ लाख ८५ हजार रुपैयाँ बराबरको फूल आयात भएको छ । उक्त महिनामा मात्र ९७ टन फूल आयात भएको भन्सार विभागको तथ्यांकमा छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा १ करोड ८४ लाख ५५ हजार रुपैयाँ बराबरको २ सय ७ टन फूल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २५ लाख १८ हजार रुपैयाँ बराबरको २३ टन मात्रै फूल भित्रिएको थियो । गत आर्थिक वर्षभन्दा यस वर्ष पहिलो तीन महिनामा १ करोड ५९ लाख ३७ हजार रुपैयाँ बढी रकमको (१ सय ८४ टन बढी) फूल भित्रिएको छ । 

गत भदौमा ६० लाख २९ हजार रुपैयाँको ३९ टन र साउनमा ४९ लाख ४० हजार रुपैयाँ बराबरको ६९ टन फूल नेपाल भित्रिएको भन्सारको तथ्यांकमा छ । गत आर्थिक वर्षको असोजमा १९ लाख ५४ हजार रुपैयाँ बराबरको १९ टन फूल आयात भएको थियो । गत आवको साउनमा ४ लाख १२ हजारको २ टन र भदौमा १ लाख ५१ हजार रुपैयाँको २ टन फूल भित्रिएको थियो ।

फूल भित्रिँदा विभागले गत आर्थिक वर्ष २ लाख २८ हजार र चालु आवको तीन महिनामा २३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा चीन, थाइल्यान्ड, जर्मनी, स्पेन र नेदरल्यान्ड्सलगायतका मुलुकबाट समेत फूल आयात हुने गरेको विभागको तथ्यांक छ ।

स्वदेशी उत्पादनले बजारको माग धान्न नपुग्ने भएकाले बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ । चाडबाडबाहेक अन्य समयमा पनि स्थानीयस्तरमा उत्पादन वृद्धिमा जोड दिनुको साटो नेपाली पुष्पबजार आयतमै निर्भर छ ।

ताजा समाचार