टोकियो । टोकियोको नजिक रहेको साइतामाको कोनोसु शहरस्थित एक अपार्टमेन्टमा टाउकोमा गम्भीर चोट लागेर रगत बगिरहेको अवस्थामा फेला परेकी नेपाली महिलाको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय प्रहरीले घटना हत्यामा आशंकामा अनुसन्धान सुरु गरेको एनएचकेले जनाएको छ ।
२१ जुन, आइतबार बिहान साढे ७ बजेतिर कपडाभरि रगत लत्पतिएको अवस्थामा नेपाली नागरिक मृतकका श्रीमान कोनोसु प्रहरी चौकी पुगेका थिए । ती पुरुष मृतककी श्रीमान भएको उल्लेख गरिएको छ । उनी प्रहरी चौकी आएलगत्तै यो घटना बाहिर आएको हो ।
प्रहरी टोली ती पुरुषलाई साथमै लिएर उनको तीन तले अपार्टमेन्टमा पुगेको थियो । त्यहाँ अपार्टमेन्टको प्यासेजमा नेपाली महिला टाउकोबाट अत्यधिक रगत बगेर अचेत अवस्थामा ढलेकी थिइन् ।
उनलाई तुरुन्तै नजिकैको अस्पताल पुर्याइए पनि उपचारका क्रममा करिब एक घण्टापछि चिकित्सकले मृत घोषित गरेका थिए ।
यो घटना कसरी र किन भयो भन्नेबारे प्रहरीले हाल श्रीमानसँग सोधपुछ गरिरहेको छ । तर, ती पुरुषले अहिले दोधारे र अस्पष्ट कुरा गरिरहेकाले घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विस्तृत रूपमा सुक्ष्म अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।