नेपालगन्ज — बाँकेको कोहपलुर नगरपालिका–१, शक्तिनगरमा पतिले आफ्नै पत्नी र छोरालाई पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु भएको छ ।
कोहलपुरका भानुभक्त विकले पत्नी र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हो ।
पत्नी गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा जलेका छोरा प्रिन्सको सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताए । सोमबार बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको छ । गंगाको उपचार जारी छ ।
जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगन्जमा भेरी अस्पतालमा ल्याइएको थियो ।
प्रहरीले भानुभक्तलाई नाकाबाट पक्राउ गरेको छ । उनीहरू भारततिर भाग्दै गर्दा आइतबार राति नै पक्राउ परेका थिए ।
आइतबार करिब ६ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि पति भानुभक्त विकले पत्नी गंगा विक र २ वर्षीय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएका थिए ।