फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडानको अनुमति, व्यवसायी उत्साही

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित व्यावसायिक उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको छ।

प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमका अनुसार दुबई एभिएसन कर्पोरेसन फ्लाई दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि एक महिनासम्म दैनिक उडान सञ्चालन गर्ने प्रस्ताव पेस गरेपछि अनुमति दिइएको हो।

अनुमति अनुसार ‘बोइङ ७३७’ विमान प्रत्येक दिन बिहान ८:०५ बजे पोखरा अवतरण गर्नेछ भने ९:०५ बजे दुबईका लागि उड्नेछ।

‘फ्लाई दुबईले पोखरा–दुबई सिधा उडानका लागि अनुमति मागेको थियो। सोही अनुसार अनुमति दिएका छौं,’ गौतमले भने, ‘यसले पोखराबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सहयोग पुग्न सक्छ।’

पोखरा–दुबई उडान अवधि करिब पाँच घण्टाको हुनेछ। दुबईलाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा प्रयोग गर्ने यात्रु तथा पर्यटकले यस सेवाबाट लाभ लिन सक्ने उनले बताए।

हाल फ्लाई दुबईले काठमाडौं–दुबई सिधा उडान सञ्चालन गर्दै आएको छ। कम्पनीले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै पोखराबाट उडान सम्भाव्यताबारे अध्ययन गर्दै आएको थियो। प्रारम्भिक एक महिनाको उडानपछि थप तालिकाबारे निर्णय गरिने जनाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि हिमालय एयरलाइन्सले चीनको ल्हासासम्म नियमित उडान सञ्चालन गरेको थियो। पर्याप्त यात्रु नपाएपछि उक्त सेवा हाल स्थगित छ।

विमानस्थलबाट चीन, भुटान र भारतका विभिन्न गन्तव्यमा चार्टर उडान भने बेलाबेला हुँदै आएका छन्।

ताजा समाचार

आज गणतन्त्र दिवस

आज बकर इद (इदुल जोहा) मनाइँदै