काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले सात उपाध्यक्षसहितको पदाधिकारी चयन गरेको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता मुकुन्द न्यौपानेपछि उपाध्यक्षको वरियता रहेको छ । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्तरी राई रहेका छन् ।
त्यस्तै पार्टीको महासचिवमा डा. बेदुराम भुसाललाई चयन गरिएको छ भने उपमहासचिबमा प्रकाश ज्वाला, गंगाधर तुलाधर र विजय पौडेल चयन भएका छन् । यस्तै सचिवमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई चयन गरिएको छ । बैठकले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । उनका अनुसार ७१ सदस्यीय पोलिट ब्यूरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।
त्यस्तै केन्द्रीय सदस्यहरुलाई सम्पूर्ण प्रदेश तथा जिल्लामा इञ्चार्जहरुको जिम्मेवारी प्रदान गरिएको उनले बताए । बैठकबाट ‘तात्कालिक कार्ययोजना– २०७८’ पारित गरिएको खतिवडाले जानकारी दिए । बैठकले समसामयिक प्रस्तावहरु पारित गरेको छ । जसमा कोरोना नियन्त्रण र खोपका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने, चाडवाडका वेला हुनसक्ने कालाबजारीलाई रोक्नुपर्ने लगाएतका छन् ।
त्यस्तै एमसीसीको अहिलेको अवस्था मुलुकको हित बिपरित रहेको भन्दै यसलाई यथास्थीतिमा अघि बढाउन नहुने निष्कर्ष बैठकको रहेको खतिवडाले जानकारी दिए ।
त्यसअघि बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद(जबज)लाई आत्मसात् गर्न चाहेको धारणा राखेका थिए । उनले एमाले कब्जा गरेर बसेका व्यक्तिहरुले भ्रम र बदनाम गर्ने प्रयास गरिरहेको भन्दै आफुहरु बिचलित नहुने बताए । उनले जनताको विश्वासलाई घात नगर्ने स्पष्ट पारे । नेपालले मन्त्रिमण्डललाई पूर्णता दिन ढिलाई भएको र छिटै यसले पूर्णता पाउने बताए ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ, जसमा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी जम्मा ७०१ सदस्यीय हुने बताइएको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने र ती आयोगहरु बढीमा ३५ सदस्यीय गठन गरिने समाजवादीले जनाएको छ ।