सरकारले बजेटलाई महत्व नदिँदा संकट उत्पन्न भएको एमालेको निश्कर्ष

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले बजेट पारित गर्ने कुरालाई महत्व नदिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको जिकिर गरेको छ। 

महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै सरकार सत्ता स्वार्थमा अलमलिँदा अहिलेको अवस्था आएको बताएका हुन्। 

‘गठबन्धन सरकार र पुनःस्थापित प्रतिनिधिसभाको सर्वाधिक महत्वको कर्तव्य संवैधानिक र कानुनी व्यवस्थाअनुरुप बजेट अध्यादेशलाई संसदमा प्रस्तुत गरी पारित गर्नुपर्दथ्यो। तर सरकारले प्रतिनिधिसभा बैठक सुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्ता स्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको छ । पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बजेट पारित गर्ने प्रमुख दायित्व रहने बर्षे अधिवेशन, बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरियो।’

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री तोक्ने र प्रतिनिधिसभा पुनस्र्थापित गर्ने निर्णय गरेपछि मुलुकमा विषम परिस्थिति सिर्जना हुनपुगेको एमालेको ठहर छ । प्रचार गरिएजस्तो आफूहरुको संसद अवरोधले बजेट पारित गर्न कुनै समस्या नभएको एमालेको दाबी छ।

यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ । जबकि प्रतिनिधिसभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । विज्ञप्तिमा उल्लेख छ, ‘बरु यसबीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढंगले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद अधिवेशन स्थगित गरियो ।’

बजेट पास नगर्दा सरकारले राज्यको ढुकुटीबाट आज राति १२ बजेदेखि खर्च गर्न पाउँदैन। 

ताजा समाचार