काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।
२ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।
एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । हाल प्रदेश मन्त्री रहेका कृष्ण खनालले पनि समाजवादीमा सनाखत गर्ने भएका छन् ।
लामो समय माधवकुमार नेपाल समूहमा रहेकी शाक्य मुख्यमन्त्री बन्ने भएसँगै केपी ओली समूहमा गएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षमा माधव नेपाललाई साथ दिँदै आएकी उनी २ भदौमा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेकी हुन् ।
नयाँ मुख्यमन्त्रीमा पाण्डेको दाबी
मुख्यमन्त्री शाक्य १४ दिनमै अल्मपतमा परेपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दावी गर्ने भएका छन् ।
मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे भन्छन्, ‘त्यो दिनदेखि सरकार अल्पमतमा पर्यो ।’
यो सरकार जोगाउने कुनै बाटो नभएको भन्दै उनले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताए । मुख्यमन्त्रीको उम्मेदवार को भन्ने प्रश्नमा पाण्डेले भने, ‘पार्टीले मलाई नै अगाडि सारेको छ । सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।’