काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका तीन नेताबीच आइतबार भेटवार्ता भएको छ ।
सरकार गठनको डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आइतबार विहान सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको हो ।
वर्तममान गठबन्धनका मुख्य सारथि मानिनुभएका माधव नेपालको दल दर्ताका लागि समय लागेकाले प्रधानमन्त्री देउवाले डेढ महिनासम्म पनि सरकारलाई पूर्णता दिन सक्नुभएको छैन ।
हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना रहेका छन् । जसमा कांग्रेस र माओवादीका दुई/दुई मन्त्री र कांग्रेसका तर्फबाट एक राज्यमन्त्री रहेका छन् ।
सरकारले अध्यादेश ल्याएरै नेकपा एमाले र जसपा विभाजनका लागि सहजीकरण गरेको थियो ।
दल विभाजनका लागि अध्यादेश ल्याउने देउवा सरकारको निर्णयको सर्वत्र आलोचना भए पनि त्यही अध्यादेशमा टेकेर नेपाल र महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराइसकेका छन् ।
सरकारमा नेपालको नेकपा (एस), जसपा जाने निश्चित भइसकेको छ भने राष्ट्रिय जनमोर्चाले नजाने जनाइसकेको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको लोसपा पनि उपयुक्त स्थान पाए सरकारमा जानसक्ने बताइएको छ ।