काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारमा रहेका नेताहरुवीच सहमति भएको छ ।
आज बालकोटमा भएको बैठकमा दुवै पक्षवीच भोली स्थायी कमिटि बैठक बोलाउने र सोही बैठकमा सबै नेताहरु सहभागि हुने सहमति भएको प्रवक्ता प्रदीप ज्ञावलीले बताए ।
नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।
छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनका अनुसार भोलिको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ ।
ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए ।