काठमाडौं । नेकपा एमालेकी युवा नेत्री तथा सांसद नविना लामाले माधव नेपालले शेर बहादुर देउवाको पाउमा सत्ता सुम्पिएको बताएकी छन् ।
नेता नेपालको कुण्ठा, द्वेष र विधि पद्धतिका नाममा भएको गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै नेपाललाई लोभी, पापी र गद्दारको संज्ञा दिइन् ।
१५ वर्ष एमालेको नेतृत्व गर्दा माधव नेपालले केपी ओली र ओली पक्षधरलाई दमन गरेको स्मरण गराउँदै उनले महाधिवेशनबाट हारेर पनि विधि पद्धतिको गीत गाउँदै लज्जास्पदरूपमा अध्यक्षमा दावी गरेको लामाको आरोप छ ।
आफ्नो वक्तव्यमा उनले भनेकी छन्, ‘तपाईंले १५ वर्ष पार्टीको नेतृत्व गर्दा अहिलेको पार्टी अध्यक्ष केपी ओली र उहाँको लाइनलाई कस्तो अवस्थामा पुर्याउनु भयो ? पार्टीलाई लज्जास्पद हारसहित तेस्रो स्थानमा पुर्याउनु भयो । आफ्नो गुटकालाई मात्र पक्षपोषण गर्दै तिनलाई राम्रो ठाउँमा, आफ्ना नातागोता र छोराछोरी सबैलाई यथोचित व्यवस्थापन गर्नुभयो । अहिले आफू महाधिवेशनमा हारेपछि पनि ऐन मौकामा जस्केलाबाट छिरेर विधिको गीत गाउँदै अध्यक्ष पदमै दावा गर्ने रु यो कुन विधि र पद्धति हो कमरेडरू’
अनेरास्ववियूको पूर्वअध्यक्ष समेत रहेकी लामाले आफ्नो पार्टीको सरकार ढालेर, पार्टीलाई दनदनी बालेर त्यसको आगोमा माधव नेपालले मज्जा लिइरहेको भन्दै उनले जनताले सधैँ धिक्कार्ने बताएकी छन् ।
लामाले भनेकी छन्, ‘हिजो राजा ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं गरी आज देउवा पाउमा सत्ता सुम्पनु भयो । यो कुन विधि र पद्धति हो कमरेड रु तपाईंको विधि र पद्धतिको कुकृत्यलाई पार्टीका लाखौं कार्यकर्ता, शुभेच्छुक र जनताले कदापी माफी दिने छैनन् । तपाईंलाई अलिकति पनि लज्जा र हिनता महसुस भएन ?’
उनले पार्टी फुटबाट जोगाउन भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईललगायतको भूमिका सम्माजनक रहेको बताएकी छन् ।