काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गर्नुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
आजै ऊर्जा सचिव देवेन्द्र कार्कीले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा उहाँलाई नियुक्ति पत्र दिएका थिए ।
साविकका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने सरकारले जल तथा शक्ति आयोगमा विशिष्ट श्रेणी सरह खाइपाइ आएको सेवा सुविधा राखी चार वर्षका लागि नियुक्त गरेको छ ।
पदबहाली गर्दै घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन्नुभयो , “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौँ । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।”
आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले आफ्नो कार्ययोजना रहेको सुनाउनुभयो।
अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गरौँ, काँधमा काँध मिलाएर अगाडि बढौँ, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ ।”
आम जनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उहाँले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
तत्कालीन नेपाली कांग्रेस र नेकपा९माओवादी केन्द्र०को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उनले अवकाश पाउनुभएको थियो ।
उहाँले जनताको अपेक्षालाई आफूले निराश नबनाउने भन्दै सबै मिलेर अगाडि बढे प्राधिकरणलाई सरकारका विभिन्न संस्थामध्येको नमूना बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिक नेतृत्व, कर्मचारी प्रशासनसँग समन्वय गरेर काम गर्न आफूलाई झनै सहज रहेको भन्दै देशको ऊर्जा क्षेत्रमा देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्माणाधीन आयोजना सम्पन्न गर्ने अठोट
प्राधिकरणमा आयोजित पदबहाली समारोहलाई सम्बोधन गर्दै उहाँले निर्माणमा रहेका आयोजनालाई शीघ्र सम्पन्न गराउनेतर्फ आफ्नो विशेष पहल रहने उल्लेख गर्नुभयो ।
प्राधिकरण आफैको आयोजना नभए पनि सहायक कम्पनीमार्फत अगाडि बढाइएका आयोजना लामो समयसम्म अगाडि बढ्न नसक्दा लागत र समय दुवै बढेको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले अगाडि बढाएका आयोजनालाई आगामी एक वर्षभित्र पूरा गर्ने गरी काम गर्ने उहाँको भनाइ छ ।
रसुवागढी, माथिल्लो साञ्जेन, तल्लो साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना चिलिमेका सहायक कम्पनीमार्फत अगाडि बढेका छन् । यस्तै, राहुघाट, माथिल्लो त्रिशूली थ्री बी जस्ता आयोजना समेत समयमै सम्पन्न गराउनेतर्फ आफू लाग्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
यस्तै अन्य केही ठूला आयोजनाको काम शुरु गर्ने गरी आवश्यक तयारी भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो । माथिल्लो अरुण, दूधकोशी, तामाकोशी पाँचौ र चैनपुर सेतीको वित्तीय व्यवस्थापन गरेर सकेसम्म स्वदेशी लगानीमा नै अगाडि बढाउने योजनासमेत उहाँले सुनाउनुभयो ।
माथिल्लो तामाकोशी सञ्चालनमा आउँदा त्यसले वार्षिक रुपमा झण्डै रु २० अर्ब बराबरको आम्दानी गर्ने भएकाले ठूला आयोजना अगाडि बढाउन स्रोतको कुनै अभाव नहुने उनले उल्लेख गर्नुभयो ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थाबाट ऋण लिएर भए पनि आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने उहाँको भनाइ छ ।