एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्छः सभामुख अग्नि सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने या नगर्ने विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

एमसीसीको विषयमा आफू निष्पक्ष रहेको भन्दै उनले भने, ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ’ ।

यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाले बताए ।

उनले आफू सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका बेला एक जना स्थानीयले तामाङ भाषामा कुराकानी गर्दै एमसीसी पारित गर्न नहुने बताएको पनि पत्रकारलाई सुनाए ।

अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा विचाराधीन छ ।

उनले एमसीसीलाई सदनमा पेश नगरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली निकै रुष्ट बनेका थिए ।

मंगलबार मात्रै प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै निवर्तनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी के हुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न उठाएका थिए। उनले गठबन्धनले एमसीसीबारे केही नबोलेको भन्दै धारणा राख्न माग गरेका थिए ।

ताजा समाचार