महाकाली घटनाबारे यथार्थ जानकारी दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जयसिंह धामी प्रकरणबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा सभामुख सापकोटाले दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन रुलिङ गरेका हुन् ।

त्यसअघि शून्य समयमा बोलेका सांसदहरुले जयसिंह धामी प्रकरणमा सरकारले अहिलेसम्म सत्य तथ्य सार्वजनिक नगरेको भन्दै आलोचना गरेका थिए।

सोही विषयमा सभामुख सापकोटाले भने, ‘बेपत्ता भएका जयसिंह धामीको अवस्था के कसो छ । यसमा मेरो पनि ध्यानाकर्षण भएको छ । सत्यतथ्य पत्ता लगाएर चाँडो प्रतिनिधिसभा बैठकमा जानकारी गराउन सरकारलाई ध्यानाकर्षण गराउँछु ।’

महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि दार्चुलाका ३३ वर्षीय नेपाली युवक धामी बेपत्ता छन्।

सरकारले उक्त घटनाको अध्ययनका लागि छानबिन समिति बनाएको छ। १० दिन समय पाएको उक्त समिति घटनास्थलमै पुगेर फर्केको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैमा यस घटनाबारे चर्काे रुपमा विषय उठान भइरहेको छ ।

ताजा समाचार