फेरी असाधारण जनमतको साथ मूल गेटबाट प्रधानमन्त्री हुन्छुः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू फेरी असाधारण जनमतको साथ प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन् ।

लोकतन्त्रमा सरकार परिवर्तन सामान्य प्रक्रिया भएको तर अहिले भने असामान्य तरिकाले सरकार परिवर्तन भएको भन्दै उनले आफू जस्केला, झ्यालबाट नभई मूल गेटबाट नै प्रधानमन्त्री बन्ने बताए ।

‘म प्रधानमन्त्री बन्न जन्मेको होइन, काम गर्दैजाँदा प्रधानमन्त्री भएको हो’, उनले भने, ‘म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मुलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’

उनी आफू परमादेशबाट नभई जनादेशबाटै प्रधानमन्त्री हुने भन्दै उनले अघिल्लो पटक पनि आफूलाई जबरजस्ती हटाइएको तर पछि चुनावबाट जनमतको साथ आएको बताए ।

दुनियामा अदालतबाट प्रधानमन्त्री भएको यो पहिलो घटना भएको बताउँदै उनले प्रधानमन्त्रीबाट हट्नुपर्दा कुनै चिन्ता नभएको समेत बताए ।

सत्तापक्षलाई उनले अदालतलाई विवादमा ल्याउन खोजेको आरोप लगाउँदै त्यसो नगर्न आग्रह गरे ।

प्रतिनिधिसभाको बैठकमा मंगलवार बोल्दै विकृत क्रियाकलापबाट सरकार परिवर्तन गरिएको भन्दै उनले आफूमाथि प्रहार भइरहेकोमा कुनै चिन्ता नरहेको समेत बताए ।

सुखी नेपाली, समृद्ध नेपालको उद्धेश्य बोकी हिडेको मान्छेलाई यस्ता सानातिना गाली गलौजले केही फरक नपर्ने बताए । उनले आफू आफ्नो उद्धेश्यमा केन्द्रीत रहेको बताए ।

आफूले नेतृत्व गरेको पार्टीका नीति कार्यक्रम योजना र लक्ष्य सोही अनुरुप तय भएको उनले बताए ।

उनले सुखी नेपाली बनाउने अभियानकै कारण अघिल्लो चुनावमा पवित्र तालमेल गरेको र सहकार्य गरी अघि बढ्ने निती लिएको तर त्यसो अनुसार नभएको बताए ।

उनले अस्वाभाविक ढंगले सरकार गठन भएपछि सत्तापक्षका सांसदहरू दशैँमा केटाकेटी रमाएजस्तो रमाइरहेको टिप्पणी समेत गरे ।

उनले प्रश्न गरे, ‘सत्तापक्षका सांसदहरू सदनमा दशैँमा केटाकेटी रमाएजस्तै रमाइरहेको देखिन्छ, सरकार गठन भएको एक महिनासम्म धन्यवाद र बधाई के को लागि ?’ ।

ओलीले सरकारले सुकुम्वासी आयोग विघटन गरेर सुकुम्वासीको घाँटी सेर्ने काम गरेको आरोप लगाए ।

ओलीले संसद पुनःस्थापना पछि पहिलो पटक सम्बोधन गरेका हुन् ।

ताजा समाचार