देउवालाई ओलीको विन्ती– ‘मेरो पार्टीका केही नेताले मन्त्री खोजेका छन्, दिनुस प्लिज!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमा आफ्नो पार्टीका केही नेताहरु मन्त्री खान जान खोजेको भन्दै उनीहरुलाई मन्त्री दिन आग्रह गरेका छन् ।

संसद पुनःस्थापनापछि पहिलो पटक बोल्दै उनले सरकारको कडा आलोचना गरे । भाषण सकेर फर्कने बेलामा उनले हात जोड्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई आफ्नो पार्टीका केही नेताहरुले मन्त्री बन्न खोजेको भन्दै दिन आग्रह गरे ।

‘प्रधानमन्त्रीज्यू, मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछि कुदेका छन् । तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ? हिरिक, हिरिक, हिरिक भएका छन् विचराहरू, मन्त्री खानका लागि प्लीज । यति त गराइसक्नुभो । पछि त लगाइसक्नुभयो । पछिपछि हिँड्याछन्, कुद्याछन्, फ्याफ्या स्वास्वा गर्‍याछन्, मन्त्री खान पाउँ भन्याछन्, बिहानबेलुका चाकरीमा हाजिर गर्‍याछन् । मन्त्री दिनुस् । मेरो दलमा अलिकति घाटा भएपछि सहुला बुझाउँला,’ ओलीले भने ।

आफ्नो पार्टीलाई घाटा भए होस भन्दै उनले मन्त्री दिन भनेका छन् ।

नेपाल पक्षले आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको थियो । तर नेपाल पक्ष हालसम्म सरकारमा भने सहभागी नभएको अवस्थामा नेपाल पक्षका नेताहरुमाथि उक्त कटाक्ष गरेका हुन् ।

ताजा समाचार