काठमाडौं । जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि सोमबार न्यायधिश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ ।
निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर उक्त निर्णय खारेज गर्न माग गर्दै रिट दर्ता गरेका थिए ।
रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।
यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो ।
ठाकुरका तर्फबाट दायर दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाई हुने भएको हो । यस्तै खतिवडाकै इजलासमा आज पूर्व माओवादी नेताहरुको रिटको सुनुवाई पनि हुन लागेको छ ।