काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधव नेपाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी हुने सम्भावना टरेको बताउनु भएको छ ।
आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा सदस्यहरूलाई ब्रफिङ गर्दै अध्यक्ष प्रचण्डले एमालेको माधव समूह संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताउनु भएको हो ।
बैठकअघि अध्यक्ष प्रचण्डले नेता नेपालसँग सरकारमा सहभागी हुने नहुनेबारे नेता नेपाललाई भेटेर छलफल गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डले बैठकमा आफूले माधव नेपाललाई सरकारमा सहभागी हुन गरेको आग्रहका सन्दर्भमा नेता नेपालले पनि संस्थागत रूपमा सहभागी हुन नसक्ने जवाफ दिएको बताउनु भएको थियो ।
यसैबीच, माओवादी केन्द्रको आइतबारको स्थायी कमिटीले साउन २० गते तय भएको केन्द्रीय कमिटी बैठक १० दिनका लागि स्थगित गरेको छ । वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
यसैगरी साउन ३० भित्र सबै वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटी बैठकमा आउँदा ल्याउनक लागि पनि सदस्यहरूलाई निर्देशन दिने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभएको छ ।
बैठकले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारले संविधानको मूल्य मान्यताकाविरुद्ध गतिविधि गरेको भन्दै आलोचना पनि गरेको छ ।