मेलम्चीमा फेरि बाढी, गृहमन्त्रीले विज्ञसहितको टोली भेम्राथाङ पठाउने

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । शनिबार राती आएको बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताउनुभयो ।

तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उहाँले दिनुभयो ।गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको पत्रकार दिनेश थापाले जानकारी दिनुभयो । रातो पुलको माथिबाट पानी बगेको उहाँले बताउनुभयो । गत असार १ गते आएको बाढी पुल माथिबाट बगेको थिएन ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताउनुभयो । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँडले बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिनुभएको छ ।

पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पाखेरलेलाई गृहमन्त्री खाँडले निर्देशन दिनुभएको बागमती प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिनुभयो ।

ताजा समाचार