शनिवारसम्म कि वार कि पार गर्नुस्ः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विवादको विषयमा शनिवारसम्म कि वार कि पार गर्न निर्देशन दिनुभएको छ ।

लामो समयदेखि पार्टी विवाद समाधानउन्मुख नभएको र कार्यदलले दिएको १० बुँदे सहमतिले पनि काम नगरेपछि अन्यौलको अवस्था हटाउन उहाँले निर्देशन दिनुभएको हो ।

पार्टी कार्यालय थापाथली पुगेर निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले भन्नुभयो, ‘म यति लचिलो छु। तर, बाहिर चाहिँ मैले पहल नगरेको भ्रम फिँजाइएको छ। अब धेरै कुर्न सकिन्न। शनिवारसम्म कि वार कि पार गरौँ, जे–जे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिवार बिहान स्थायी समिति बैठक बोलाउनुस्। सबै त्यहीँबाट टुङ्ग्याऊँ।

महासचिव ईश्वर पोखरेललाई उक्त निर्देशन दिएसँगै वार्तामा संलग्न संस्थापन पक्षीय नेताहरु बुधबार रातिदेखि नै सहमतिका लागि सक्रिय भएका छन्।

उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ नेता माधव नेपाल पक्षीय उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई फोन गरी अध्यक्ष ओलीको भनाइबारे बताएका थिए।

उनीहरुले बिहीबार भेट्ने योजना बनाएका छन्। यद्यपि भेटको समय टुंगो लागिसकेको छैन।

पार्टी एकता लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो। वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनलाई स्वीकारेका छैनन्।

कार्यदलले काम सकेकाले यसमा रहेका नेताहरूलाई धन्यवाद दिँदै एमाले केन्द्रीय कमिटीले कार्यदल विघटन गरिसकेको छ। उक्त बैठकमा नेपाल पक्षीय नेताहरूको भने सहभागी थिएनन्।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्ण रिमाल, शंकर पोखरेल र प्रदीप ज्ञवाली तथा वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त थिए।

ओलीपक्षका नेताहरुले माधव नेपालविनाको एमालेको माग गर्दै आएका छन् भने नेपाल समूहका नेताहरुले माधव विनाको एमाले हुनै नसक्ने बताउँदै आएका छन् ।

विवाद मिलाउन ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिने समेत प्रस्ताव गरेका थिए ।

ताजा समाचार