मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्।

सत्ता सम्हालेको दुई हप्ता पुगिसक्दा पनि एक राज्यमन्त्रीसहित ५ जनामात्र मन्त्रीलाई नियुक्ती दिएका देउवाले आलोचना बढ्दै गएपछि मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् ।

त्यसको लागि सत्ता गठबन्धनका सबै पक्षसँग छलफल गरी प्रधानमन्त्री देउवाले आजै सपथ समेत गराउने तयारी गरेको उनीनिकट एक नेताले बताए।

सबै पक्षले नाम दिएमा आजै सपथ हुने बताउँदै ती नेताले भने, ‘केही कारण आज हुन नसकेमा भोलि (शुक्रबार) सपथ हुनेछ।’ आजै सत्तासाझेदार गठबन्धनको बैठकले मन्त्रीको टुंगो लगाउने तयारी गरेको छ भने साझेदार अन्य दलले पनि आजै नाम टुंगो लगाउने जनाएका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पनि पार्टीभित्रका अन्य समूहसँग मन्त्रीका लागि नाम मागिसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आफ्नो समूहबाट ४ जना मन्त्री हुनुपर्ने माग गरेको छ। प्रधानमन्त्री देउवा भने उक्त समूहका तीन जनालाई मन्त्री बनाउन तयार छन्।

माओवादीबाट पनि मन्त्री बन्ने १३ जनाको नाममा छलफल भइरहेको छ । त्यसमा कम्तीमा ६ जनालाई मात्र सरकारमा जाने सुविधान हुनेछ । आज विहानै मात्र प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच यीनै विषयमा छलफल भएको थियो ।

यसैबीच,सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को जसपा कार्यकारिणी समितिको बैठक पनि बस्दै छ ।

मन्त्री टुङ्गो लगाउने जिम्मा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई दिएपनि थप छलफल गर्न बैठक बोलाएको मोहम्मद इस्तियक राईले बताए ।

गठबन्धनका शीर्ष नेताहरुवीच आजै मन्त्रिपरिषद विस्तारबारे छलफल गर्ने तयारी छ ।

ताजा समाचार