माधव नेपाललाई सांसदले भने- ‘सरकारमा जाउँ’

काठमाडौँ । नेकपा एमालेका नेता माधव कुमार नेपालपक्षका सांसदहरुले सरकारमा जान सुझाव दिएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदहरुको आज बसेको बैठकमा नेता नेपाललाई सरकारमा जानको निम्ती सुझाव दिएको एक नेताले बताए ।

छलफलमा सहभागी केही सांसदले सांसद पद गए पनि परवाह नरहेको भन्दै ६।६ महिना पालो गरेर मन्त्री बन्ने सम्मका कुरा गरे । एकजना सांसदले त एमाले मिलेर माधव नेपाल ओलीसँग सहकार्य गर्न गएमा आफू एमालेमा नफर्किनेसम्मको चेतावनी दिएको स्रोतले जनाएको छ ।

छलफलमा सहभागी सांसद विरोध खतिवडाले सरकारमा जानुपर्छ भन्नेमा लगभग एकमत रहेको बताए । तर, अर्को दल दर्ता नगरी सरकारमा जाँदा कानूनी समस्या आउने भएकाले यसबारेमा चाँडो निर्णय गर्न नेतृत्वलाई दबाब दिइएको छ ।

अर्का सांसदले भने, ‘अब पार्टी एकता गर्ने हो भने पनि चाँडो गरौं । नत्र कानूनी प्रक्रिया पूरा गरेर दल विभाजन गरौं, सरकारमा जाऔं र आउने चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन गरेर गयौं भने एमाले भन्दा ठूलो दल बन्छौं भन्ने कुरा आएको छ । एकताको नाममा कार्यदलका नेताहरुले माधव नेपाललाई कमजोर बनाउन खोजेको कुरा उठ्यो ।’

सो समयमा नेता नेपालले ओलीले दोस्रो अध्यक्षको प्रस्ताव गरेका छन् के गरौँ ? भनेर सोधेका थिए । नेपालले सुझाव मागेकामध्ये अधिकांश सांसदले दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्न नहुने पक्षमा आफ्ना धारणा राखेका छन्।

बैठकमा सहभागी सांसद मेटमणि चौधरीले ओलीले गरेको दोस्रो अध्यक्षको प्रस्ताव पनि कपटपूर्ण भएको भनेर सांसदहरुले सुझाव दिएको बताए। चौधरीले भने, हामीले दोस्रो अध्यक्ष अस्वीकार गर्न सुझाएका छौं, ओलीले पदलोलुप देखाउन उक्त प्रस्ताव गरेको हाम्रो विश्लेषण रह्ययो।

संसदीय दलमा बहुमत पुर्‍याउन सके वा ओलीले प्रस्ताव गरेमा संसदीय दलको नेता बन्न सुझाव दिइएको चौधरीले बताए। उनले भने, संसदीय दल र पार्टी केन्द्रमा बहुमत पुर्‍याउन सकिन्छ भने प्रयास गर्ने। नभए, अर्को कोर्षमा प्रवेश गर्नुपर्ने आवाज पनि उठेको छ।

बैठकमा नेताहरुले ओलीले दोस्रो अध्यक्ष दिन्छु भन्नु ललिपप देखाएजस्तै रहेको भन्दै पत्याउन नहुनेमा जोड दिए ।

नेता नेपाल पक्षले स्पष्ट निर्णय दिन नसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

ताजा समाचार