काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । सोमबारदेखि जारी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा दिउँसो ३ बजे बैठक बस्दै छ ।
हिजोको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुलाई २४ घन्टे स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको थियो । तर, सांसदहरुले यसबारे कुनै जवाफ दिएका छैनन् ।
प्रधानमन्त्री देउवाको पक्षमा मत दिने सांसदहरुले यो स्पष्टीकरणको औचित्य नरहेको भन्दै कुनै जवाफ नदिने बताएका छन् । आजको बैठकले भने उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउने केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
असार २८ मा संसद पुनःस्थापन गर्न आदेश दिएको सर्वोच्च अदालतले देउवालाई विश्वासको मत दिएका सांसदलाई कुनै पनि पार्टीले कारवाही गर्न नपाउने फैसला गरेको थियो ।
यस्तै आजको बैठकमा विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको तामाङले बताउनुभयो ।