ओली सरकारले नियुक्त गरेका ११ राजदूतको नियुक्ति खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ११ जनालाई राजदूतमा नियुक्त गर्ने निर्णय खारेज भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्तिको निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

त्यसैगरी सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो ।

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले ती दुई जिल्लालाई आगामी असोज मसान्तसम्म विपद संकटग्रस्त जिल्ला घोषणा गरेको कार्कीले जानकारी दिनुभयो ।

ताजा समाचार