काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक शुरू भएको छ । ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने बैठकमा पछिल्लो समय देखिएका राजनैतिक खटपटका विषयमा मुख्यगरी छलफल हुनेछ ।
अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस गर्ने सांसदहरुका सम्बन्धमा छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पनि उहाँले बताउनुभयो ।
आइतबार बसेको स्थायी कमिटि बैठकले पार्टीको आधिकारिक धारणा विपरित गएर मतदान गर्ने सांसदलाई कारवाही गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताउनुभएको थियो ।
प्रवक्ता ज्ञवालीले नेता माधवकुमार नेपाल पक्ष आउने–नआउने निश्चित नरहेको बताउनुभयो । तर फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरु ओलीले बोलाएको बैठकमा नजाने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ओलीले के कति कार्वाही गर्छन् त्यो हेर्न बाँकी छ। हिजो देउवालाई मत नदिने हाम्रो खेमाका नेताहरू पनि जानु हुन्न। उहाँहरु पार्टी एकताका लागि लाग्नु हुन्छ। हिजो पार्टी एकताका लागि हामीसँग भद्र सहमतिमा उहाँहरुले देउवालाई मत नदिएको हो। उहाँहरु सबै नेता नेपालकै पक्षमा हुनुहुन्छ।’
यस्तै आजको बैठकले नेताहरुलाई कारवाही गर्न सक्ने सम्भावना रहेको बताइएको छ । आइतवार प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने क्रममा ३३ जना एमाले सांसदले पार्टीको निर्देशनको अवज्ञा गरेका थिए । जसमा ओली समूहका ८ सांसदले फ्लोर क्रस गरेर देउवालाई समर्थन गरेका छन् ।
यसअघि स्थायी कमिटि बैठकले देउवाको पक्षमा भोट हाल्ने सांसदहरु एमाले नै नरहने चेतावनी दिएको थियो । आजको बैठकमा यीनै एजेन्डामा छलफल गरिने नेता ज्ञावलीको भनाई छ ।
बैठकमा एमालेको माधव कुमार नेपाल समूह भने उपस्थित भएको छैन । कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।