काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरुले पार्टीको बैठक बालुवाटारमा नराख्न आग्रह गरेका छन् ।
केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले पार्टीका कार्यक्रमहरु बालुवाटारमा नराख्न आग्रह गरेको बताउनुभएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कार्यक्रमहरु बालुवाटारमा हुने गरेका छन् । त्यस्तै देउवा प्रधानमन्त्री भएपछि पनि बालुवाटारमै बैठक गर्नुभएको थियो । जसको कारण सुरुवातबाटै उहाँको आलोचना शुरू भएको छ ।
ओलीले बैठक राखेकोमा विरोध जनाउनुभएका नेता थापाले देउवालाई पनि बैठक पार्टी कार्यालयमा या अन्यत्र राख्न सुझाव दिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा यसबारे जानकारी दिदै देउवाले पनि प्रधानमन्त्रीको सरकारी निवासमा बैठक नराख्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले’पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’भन्ने विश्वास दिलाउनु भएको छ। प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।’
बालुवाटारमा पार्टीका गतिविधि गरेर सरकारी निवासलाई पार्टी कार्यालय बनाएको भन्दै ओली सरकारको चर्काे आलोचना हुँदै आएको थियो । जसमा खर्च विवरण सार्वजनिक गर्न भन्दै मन्त्रिपरिषद कार्यालयमा निवेदन समेत परेको छ ।