ओलीको उद्घोषः माधव नेपाललाई कुनै पनि हालतमा एमालेमा राख्न सकिन्न

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फर्केका छन् ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरेपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाडेका हुन् । उनलाई पार्टी निकट सङ्गठन र उनका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।

बालकोट पुग्ने वित्तिकै ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।

प्रधानमन्त्री निवास बालुवाटार छाडेर दलबलसहित बुधबार आफ्नो निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै नेपाललाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका हुन्।

ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको पनि घोषणा गरे। नेपालका पछाडि लाग्ने कुनै व्यक्तिहरुले कमीकमीजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै पार्टीमा ठाउँ दिने पनि उनले बताए ।

‘माधव नेपालकै कारण एमालेको सरकार ढलेको हो,’ उनले भने, ‘माधव नेपालजस्ता लाजशरम हराएका विश्वासघाती र अन्तरघातीलाई आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन । नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न ।’

अध्यक्ष ओलीले माधव नेपालका पछाडि लाग्नेहरूका सवालमा कमीकमजोरी महसुस गरेर पार्टीमा फर्किए काम गर्ने मौका दिने बताए । 

‘कमीकमजोरी महसुस गरेर पार्टीमा आउनेहरूलाई हामी काम गर्ने मौका दिन्छौँ । तर, माधव नेपालको हकमा आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन । यो परिस्थितिको निर्माणकर्ता नेपाल हो र अगुवाइ पनि उहाँले नै गर्नु भएको हो । माधव नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न । ’

ताजा समाचार