देउवा प्रधानमन्त्री नियुक्त,शपथको तयारी

काठमाडौं । सोमबार सर्वोच्च अदालतले परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

केहीबेर अघि उहाँले नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताउनुभयो ।

देउवा अहिले गठबन्धनसँग छलफलमा व्यस्त हुनुहुन्छ । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

यो सँगै देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत नपाए पनि उहाँकै नेतृत्वमा मुलुक चुनावमा जाने छ।

देउवा पहिलो पटक २०५२ सालमा त्यसपछि २०५८ साल, २०६१ साल तथा २०७४ सालमा चौथोपटक प्रधानमन्त्री हुनुभएको थियो । ६४ सालमा चुनावी सरकारको नेतृत्व गर्नुभएका उहाँले यसपटक पनि चुनावी सरकारसम्मकै नेतृत्व गर्ने सम्भावना रहेको छ।

ताजा समाचार