काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना विरुद्धको खोपको अभाव नहुने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा कोभिड – १९ युनिफाइड केन्द्रीय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीलाई अब खोपको अभाव नहुने बताउनुभएको हो ।
केही समय खोपको अभाव देखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सोही अवस्था दोहोरिन नदिने गरि काम भइरहेको जिकिर गर्नुभयो।
उहाँले २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको जिकिर गर्नुभएको छ ।
उहाँले कोरोना महामारी न्युनिकरणको अभियानमा लक्ष्य अनुसार सबैलाई खोप दिन ढिलो भएपनि नआत्तिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको निरन्तर प्रयासका कारण नै नेपालमा कोरोना नियन्त्रण हुन सकेको दाबी गर्नुभयो । त्यस्तै उहाँले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताउनुभयो ।
आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७–८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उहाँले बताउनुभयो ।
वीर अस्पतालको नवनिर्मित भवन उद्घाटन भएसँगै ५०० बेड थपिने योजना रहेको अस्पतालका प्रशासकिय अधिकारी प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङक जडान गरिसकेकाले वीरको पुरानो भवन र ट्रमा सेन्टरमा रहेका कोभिडका बिरामीलाई नयाँ भवनमा सारिएको उहाँको भनाइ छ ।