पोखरा। गण्डकी प्रदेशमा अघिल्ला सरकारले केही नगरेको आरोपसहित कांग्रेसको नेतृत्वमा बनेको सरकारले श्वेतपत्र जारी गरेको छ ।
मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले स्वेतपत्र जारी गर्दै ६ महिनाभित्र प्रदेशका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने घोषणा गर्नुभयो ।
अघिल्लो सरकारले पूरा गर्न नसकेका लक्ष्यहरु आफुले पूरा गर्ने मुख्य मन्त्री पोखरेलको दावी छ । उहाँले लोकतान्त्रिक मूल्य र मान्यताको जगमा टेकेर सरकारले आफ्ना गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।
सबै पक्षलाई साथमा लिएर प्रदेशको समृद्धीका लागि क्रियाशिल रहने, प्रदेशमा लगानीको अनुकुल वातावरण निर्माण गरिने, सामाजिक आर्थिक अवस्थालाई पुनर्जीवन र गति दिने कार्यमा सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्ने मुख्मन्त्री पोखरेलले बताउनुभयो ।
महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका बेरुजुमध्ये हालसम्म ४५ प्रतिशत पनि फस्र्यौट हुन नसकेको र पूर्व सरकारले अध्ययन विना संस्था, समिति गठन नियुक्त गर्दा पदाधिकारीको सेवा सुविधाका कारण खर्च अनियन्त्रित रुपले बढेको स्वेतपत्रमा जनाइएको छ ।
केही महत्वपूर्ण काम भनेर सुरु गरिएका योजनाहरु अहिलेपनि अलपत्र रहेको जनाइएको छ ।
२०७५र०७६ मा २ अर्व ६० करोड आन्तरिक आम्दानी गरेकोमा पछिल्लो वर्ष झन् घटेर २ अर्व ४१ करोडमा झरेको थियो ।
अहिले त्यो झनै कम भएको छ । राजश्वको आकार र वार्षीक बजेटमा गरेको योगदानले निराशाजनक अवस्था देखिएको नयाँ सरकारको टिप्पणी छ ।
अघिल्लो सरकारले १ हजार २ सय ३ वटा आयोजनाका काम सुरु गरेपनि त्यसलाई पूरा गर्न चाहिने १३ अर्व ९४ करोड रुपैयाँ व्यवस्थापन गर्न कठिन भएको सरकारले जनाएको छ ।