काठमाडौं । एमाले कार्यदलको बैठक बसीरहेको छ । सिंहदरबारमा जारी बैठकमा एमाले एकतालाई कायम राख्ने विषयमा छलफल भइरहेको संस्थापन पक्षबाट गठित वार्ता टोलीका संयोजक सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिनुभयो।
‘हामी साथीहरूसँग छलफलमै छौं,’ नेम्वाङ्गले भन्नुभयो‚ ‘सहमति खोज्दैछौं । कतिपय सन्दर्भमा राय मिलिसकेको छ ।’ यसअघि नै गठित १० सदस्यीय कार्यदल प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमाले नेता भीम रावलबीचको छलफलपछि ब्युँतिएको हो ।
त्यसपछि सोमबार पनि बैठक बसेको थियो । गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिअनुसार विवाद निरुपण गर्न १० सदस्यीय कार्यदल बनेको थियो ।
यहीबीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निष्क्रिय भएको थियो । तर गत आइतबार अध्यक्ष ओली र नेता रावलबीचको भेटवार्तापछि कार्यदल ब्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने विषयमा छलफल भएपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो ।