संसद् विघटनः अन्तिम चरणको बहस जारी, फैसला आज आउने संभावना कति ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका मुद्धाहरुमाथिको अन्तिम चरणको सुनुवाई शुरू भएको छ ।

केहीबेरअघिबाट शुरू भएको जवाफी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले तर्क प्रस्तुत गर्न शुरू गर्नुभएको छ।

आइतवार सभामुख पक्षका वकिलहरुले बहस सकेपछि रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस शुरू भएको थियो । निवेदक पक्षले जवाफ दिएपछि सोमबार नै एमिकस क्युरीले राय प्रस्तुत गर्ने तयारी पनि छ ।

संवैधानिक इजलासमा जवाफी बहसका लागि २ घण्टा २ मिनेट बाँकी समय छ । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार नै एक घण्टा जवाफी बहस गर्नुभएको थियो । सोमबार बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने तयारी छ ।

जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । एमिकस क्युरीका लागि संवैधानिक इजलासले दुई घण्टा समय छुट्याएको छ । उनीहरुले आधाआधा घण्टाको दरले २ घण्टा समय लिएर राय प्रस्तुत गर्नेछन् ।

सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा राखिएको छ ।

एमिकस क्युरीले राय प्रस्तुत गरेपछि संवैधानिक इजलासले प्रतिनिधि विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ ।

संसद विघटनविरुद्ध परेका ३० रिटहरुको सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरिएको थियो ।

स्रोतका अनुसार तोकिएको कार्यतालिका अनुसार नै बहस सकिएको खण्डमा आजै फैसला दिने तयारी छ ।

ताजा समाचार