काठमाडौं
आज देशको हिमाली तथा पहाडी क्षेत्रमा हर्षोल्लासपूर्वक फागु पूर्णिमा अर्थात होली मनाइरहेको छ ।

प्रेम, सद्भाव, भातृत्व र एकताको पर्व होलीलाई रंगहरुको पर्व पनि भनिन्छ । आपसमा रंग खेलेर मनाइने यो पर्वको बेग्लै धार्मिक तथा साँस्कृतिक महत्व छ ।
होलीका अवसरमा काठमाडौंको वसन्तपुर, पाटनलगायत क्षेत्रमा विशेष कार्यक्रम भइरहेको छ । सडकमा पनि होली खेल्न निस्कनेहरु प्रशस्त भेटिएका छन् ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।


त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।