सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन ब्रतालुले हातगोडाका नङ काट्छन् । त्यसपछि स्नान गर्दै चोखोनितो खाएर ब्रत संकल्प गर्छन् । स्थानीय भाषामा यसलाई ‘नहाय-खाय’ भनिन्छ ।
दोस्रो दिन ब्रतालुले दिनभर निराहार व्रत बसी राति सक्खर हालेर पकाइएको अरवा चामलको खीर इष्टदेवलाई चढाउने चलन छ । चढाएको खीर ब्रतालुसहित परिवारका सदस्यहरु प्रसादस्वरूप खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
तेस्रो दिन षष्टी तिथिमा ब्रतालुले निराहार व्रत बसेर साँझपख जलाशयमा अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिन्छन् । ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।
त्यसपछि धेरै ठाउँमा सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । कतिपय ठाउँमा घर पुग्छन् र पुनः सप्तमी तिथिका दिन बिहान जलाशय घाटमा पुगेर ब्रतालुले उदाउँदो सूर्यदेवलाई अर्घ चढाउँछन् । त्यसपछि छठ विधिवत समापन हुन्छ ।
छठ पर्व मनाउँदा सन्तान सुख प्राप्त हुनुका साथै परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने गरेको जनविश्वास छ । सूर्यको उपासनाले चर्मरोग पनि निको हुने विश्वास गरिन्छ ।
हुन त छठ तराईवासीको मात्रै चाड भन्थे’, भोजपुरी संस्कृतिविद् उमाशंकर द्विवेदी भन्छन्, ‘तर, अब त पहाडी समुदायका पनि थुप्रै महिलाले मनाउन थालेका छन्। यो क्रम बर्सेनि बढ्दो छ।’ यो चाड पहाडमा पनि मनाउने चलन सुरु भइरहेको द्विवेदी बताउँछन्। भन्छन्, ‘यो पर्व तराई, मधेस र पहाडलाई जोड्ने साझा पर्व बनेको छ।
उपत्यकाका पशुपतिको गौरीघाट, गुहेश्वरी नजिकको घाट, थापाथली घाट, कालीमाटीको घाट, टंकेश्वर घाट, गहनापोखरी, नागपोखरी, बागमती नदी किनारमा पनि व्रतालुले छठी माताको पूजाअर्चना गर्दै छन्।